फेस अफ लिटल स्टार २०८३’ सिजन १ को अडिसन भव्य रूपमा सम्पन्न

10 Shares

काठमाडाैं । फेस अफ लिटल स्टार २०८३ सिजन १ को अडिसन उत्साहपूर्ण तथा भव्य रूपमा सम्पन्न भएको छ। अडिसनमा विभिन्न विद्यालयबाट सहभागी बालबालिकाहरूले गायन, नृत्य तथा अभिनय लगायतका क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।कार्यक्रममा प्रतियोगी बालबालिकाहरूको उल्लेखनीय सहभागितासँगै अभिभावकहरूको उत्साहजनक तथा उल्लेखनीय उपस्थिति रहेको थियो। आफ्ना बालबालिकाको प्रतिभा प्रस्तुतिलाई प्रोत्साहन गर्न अभिभावकहरूले देखाएको साथ, सहयोग र हौसलाले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको आयोजकले जनाएको छ।

विद्यालयमा परीक्षा सञ्चालन भइरहेको अवस्थामा समेत धेरै प्रतियोगीहरूले आफ्नो समय व्यवस्थापन गरी परीक्षा सम्पन्न गरेपछि अडिसनमा सहभागी हुँदै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। चुनौतीपूर्ण परिस्थितिका बीच पनि अवसरको सदुपयोग गर्दै सहभागी भएका बालबालिकाहरूको समर्पण र उत्साह प्रशंसनीय रहेको आयोजकको भनाइ छ।

कार्यक्रमले बालबालिकामा रहेको प्रतिभालाई उजागर गर्नुका साथै उनीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक रूपमा घुलमिल हुने क्षमता विकासमा समेत योगदान पुर्‍याउने आयोजकले जनाएको छ। बालबालिकालाई संगीत, नृत्य, अभिनय तथा फेसनका विभिन्न विधामार्फत आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

अडिसन सफल बनाउन सहयोग गर्ने प्रायोजकहरू, इभेन्ट पार्टनरहरू, सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरू, सहभागी विद्यालयहरू, निर्णायक मण्डल, अभिभावकहरू, आयोजक टोली, स्वयंसेवकहरू, प्रतियोगीहरू तथा शुभेच्छुकहरूप्रति आयोजक सुनौलो संसार म्यानेजमेन्ट प्रा.लि.ले हार्दिक आभार व्यक्त गरेको छ।

आयोजकका अनुसार सबैको साथ, विश्वास, माया र सहयोगका कारण फेस अफ लिटल स्टार २०८३ – सिजन १ को अडिसन भव्य तथा सफल रूपमा सम्पन्न भएको हो। कार्यक्रमलाई आगामी चरणमा अझ व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउँदै बालबालिकाको प्रतिभा तथा व्यक्तित्व विकासमा निरन्तर योगदान गर्ने आयोजकले जनाएको छ।