प्रधानमन्त्री एक साताभित्र सदनमा उपस्थित हुने रास्वपाको जानकारी

35 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह एक साताभित्र प्रतिनिधिसभामा उपस्थित हुने जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुखसँग समय लिएर बुर्लाकोटीले प्रधानमन्त्री छिट्टै सदनमा आउने जानकारी दिएका हुन् ।

त्यसपछि नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीअनुसार सत्तापक्षको प्रस्तुति नआएको भन्दै असन्तुष्टि जनाइन् । उनले संसद् सरकारको प्रशंसा गर्ने थलो मात्र बन्न नहुने टिप्पणी गरिन् ।

यस्तै नेकपाका सांसद प्रमेश हमालले प्रधानमन्त्रीको उपस्थितिबारे मुख्य सचेतकले दिएको जानकारीमा सभामुखबाट स्पष्ट रुलिङ माग गरे ।

राप्रपाकी सचेतक खुश्बु ओलीले कार्यव्यवस्था परामर्श समितिमा भएको सहमतिको पालना गर्न सत्तापक्षलाई आग्रह गरिन् ।

श्रम संस्कृतिका सांसद ध्रुवराज राईले संयमित रूपमा प्रस्तुत हुन र विपक्षीको आवाज सुन्न सरकारलाई आग्रह गरे ।

विपक्षी दलहरूले भने प्रधानमन्त्री शाह संसद्मा उपस्थित भएर उठेका विषयमा जवाफ दिनुपर्ने माग गर्दै निरन्तर विरोध जनाउँदै आएका छन् ।