करेन्ट चाउचाउबारे सुर्खेतका सहायक सिडिओले फैलाए भ्रम

14 Shares

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्की विवादमा तानिएका छन् । बजार अनुगमनको क्रममा स्वदेशी उद्योगमाथि अनावश्यक दबाब सिर्जना गरिएको भन्दै उनी विवादमा तानिएका हुन् ।

गुणस्तर तथा नापतौल विभागको पत्रलाई आधार बनाएर बजार अनुगमनमा पुगेका सहायक सिडिओ कार्कीले करेन्ट चाउचाउ खान अयोग्य रहेको अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनले व्यापारीहरूलाई ‘अब नबेच्नुस्, फिर्ता गर्नुस्, करेन्ट चाउचाउ खान अयोग्य छ’ भन्दै निर्देशन दिएको सुनिन्छ । उनले यस्तो निर्देशन दिएको भिडिओ मकालुखबरसँग सुरक्षित छ ।

तर विभागले भने कुनै एक ब्याचमा गुणस्तरसम्बन्धी समस्या देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको थियो । विभागको सूचनालाई लिएर सम्पूर्ण ब्राण्ड नै गुणस्तरहीन भएको सन्देश जाने गरी अभिव्यक्ति दिनु गलत भएको जानकारहरू बताउँछन् ।

सहायक सिडिओ कार्कीले भने आफूले भ्रम फैलाउने उद्देश्य नराखेको बताएका छन् । उनले नियमित बजार अनुगमनका क्रममा विभागको पत्रअनुसार व्यापारीलाई सचेत गराइएको दाबी गरेका छन् । सार्वजनिक भएको भिडियो आंशिक रूपमा काटछाँट गरिएको उनको दाबी छ ।

तर, सुर्खेतका व्यापारीहरुले भने सहायक सिडिओले करेन्ट चाउचाउ नै नबेच्न भन्दै भ्रम फैलाइरहेको गुनासो गरेका छन् । नियमअनुसार व्यपार गर्दापनि सिडिओ कार्कीले बजार अनुगमनको नाममा आफुलाई अनावश्यक दबाव दिइरहेको गुनासो उनिहरुको छ ।

यस्तै, प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले भने घटनाबारे आफूलाई पूर्ण जानकारी नभएको प्रतिक्रिया दिएका छन् । उनले यदि सामाजिक सञ्जालमा देखिएजस्तै अभिव्यक्ति दिइएको हो भने त्यो उपयुक्त नभएको स्वीकार गरेका छन् ।

करेन्ट चाउचाउ उत्पादक यशोदा फुड्सले आफ्ना उत्पादनलाई घामपानी तथा अत्यधिक तापक्रमबाट जोगाएर राख्न विक्रेताहरूलाई पटक–पटक निर्देशन दिने गरेको जनाएको छ । तर बजारमा भने कतिपय पसलहरूले खुला घाममा झुण्ड्याएर राख्ने, असुरक्षित ढंगले भण्डारण गर्ने गरेकाले गुणस्तरमा असर पर्न सक्छ ।

यस्तो अवस्थामा भण्डारणको कमजोरीलाई उत्पादनकै कमजोरीका रूपमा प्रचार गर्नु अनुचित भएको उद्योग क्षेत्रको तर्क छ । सरकारी जिम्मेवार पदमा रहेका व्यक्तिबाटै सम्पूर्ण उत्पादनमाथि प्रश्न उठ्ने खालको अभिव्यक्ति आउँदा उपभोक्तामाझ भ्रम फैलिने र कम्पनीको प्रतिष्ठामा असर पुग्ने जोखिम हुन्छ ।

करेन्ट चाउचाउ उत्पादक यशोदा फुड्सले आफ्ना उत्पादन नेपालसहित २२ देशमा निर्यात गर्दै आएको छ । उत्पादन नै गुणस्तरहीन भएको भए कडा मापदण्ड भएका अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन टिक्न सम्भव हुने थिएन ।

स्वदेशी उत्पादनमाथि सरकारी निकायबाटै पटक–पटक प्रहार भइरहेको गुनासो उद्योग क्षेत्रको छ । विदेशी ब्राण्डका चाउचाउहरू खुलेआम बिक्री वितरण भइरहेका बेला नेपालकै अग्रणी स्वदेशी उद्योगलाई लक्षित गरेर भ्रम फैलाउने काम हुनु उचित होइन ।