आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सकाे कोलकता राइडर्समाथि शानदार जित

771 Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकता नाइट राइडर्सलाई ४० रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ ।

भारतकाे इडेन गार्डेन्समा आइतबार राति भएकाे दाेस्राे चरणकाे खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनाएकाे हाे। दिल्लीका लागि केएल राहुलले आक्रामक ब्याटिङ गर्दै ३० बलमा ६० रन बनाएका छन् ।

२ सय ४ रनको लक्ष्य पछ्याएको कोलकाता १८ ओभर ४ बलमा १ सय ६३ रनमा समेटियो । मुम्बई इन्डियन्स राजस्थान रोयल्ससँग पराजित भएपछि कोलकता र पञ्जाब किंग्स दुवै प्लेअफ दौडबाट बाहिरिएका छन् ।

प्लेअफको सम्भावना जोगाउन कोलकतालाई यो खेल जित्नैपर्ने दबाब थियो । यो जित दिल्ली क्यापिटल्सका लागि सान्त्वना बनेको छ । कोलकता नाइट राइडर्सको प्लेअफ यात्रा समाप्त भएको हाे।

मुम्बईमा आतबारै भएकाे पहिलो चरणकाे खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई पराजित गर्दै प्लेअफमा स्थान बनाएको छ । राजस्थानले लिगको आफ्नो अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई ३० रनकाे फराकिलाे अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

यो नतिजापछि पञ्जाब किंग्स र कोलकता नाइट राइडर्स प्रतियोगिताबाट बाहिरिएका छन् । जोफ्रा आर्चरले २ विकेट लिएपछि मुम्बईमाथि राजस्थानले महत्त्वपूर्ण जित निकालेको हो । यो जितसँगै राजस्थान १६ अंकसहित अंक तालिकाको चौथो स्थानमा पुगेकाे छ ।