नेपालभर बदलिँदो मौसम: मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

34 Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्र सक्रिय रहेको छ। यसको प्रभावका कारण देशका विभिन्न भागमा बदलिँदो मौसम देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अन्य भू-भागमा आंशिक बदली देखिएको छ।

दिउँसो देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ भने तराईका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ। केही उच्च स्थानमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा पनि पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहने र केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।

मौसमविद्हरूले चट्याङ र वर्षाका कारण हुन सक्ने जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।