काठमाडौँ । देशका विभिन्न स्थानमा वन डढेलोका घटना बढ्न थालेका छन् भने काठमाडौँ उपत्यकासहितका क्षेत्रमा वायु प्रदूषण पनि वृद्धि हुन थालेको छ । केही दिनयता वर्षा नहुँदा तापक्रम बढ्नुका साथै सुक्खा अवस्था बढेकाले डढेलो र प्रदूषण दुवैमा वृद्धि देखिएको सम्बन्धित निकायको तथ्याङ्कले देखाएको छ ।
विशेषगरी सुक्खा मौसम र उच्च तापक्रमका कारण सानो झिल्काले समेत आगलागी निम्त्याउने जोखिम बढेको वन तथा भूसंरक्षण विभागले जनाएको छ । वन डढेलोबाट निस्कने धुवाँ र वायुमण्डलमा जमेको धुलोको कणले उपत्यकाको वायु गुणस्तरलाई समेत खराब बनाउन थालेको छ ।
वन डढेलोको उच्च जोखिम रहने चैत महिनामा चालु वर्ष भने अघिल्लो वर्षको तुलनामा उल्लेख्य कमी देखिएको थियो । प्रि–मनसुन अवधिमा औसतभन्दा बढी वर्षा भएकाले सुक्खापन कम हुँदा डढेलोका घटनामा गिरावट आएको थियो । तर पछिल्ला दिनहरूमा वर्षा अभावसँगै पुनः सुक्खा बढ्न थालेकाले डढेलोको जोखिम पुनः बढ्ने सङ्केत देखिएको विज्ञहरूले बताएका छन् ।
वन तथा भूसंरक्षण विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार चैत महिनामा आर्थिक वर्ष २०७८ मा ४६६ वटा डढेलोका घटना दर्ता भएका थिए । यो सङ्ख्या २०७९ मा घटेर २६७ मा झरे पनि २०८० मा २४९ र २०८१ मा पुनः बढेर ३३१ पुगेको थियो । चालु आर्थिक वर्ष २०८२ मा भने ७९ वटामात्रै घटना दर्ता भए, जसलाई विज्ञहरूले मौसमीय अवस्थासँग जोडेर हेरेका छन् । प्रिमनसुन अवधिमा भएको राम्रो वर्षाका कारण अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा उल्लेखनीय गिरावट आएको थियो ।
वन तथा भूसंरक्षण विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखको पहिलो सातादेखि नै देशभर डढेलोका घटना पुनः बढ्दो क्रममा देखिएका छन् । विभागको तथ्याङ्कले वैशाख ६ देखि ९ गतेसम्मको दैनिक विवरण सार्वजनिक गर्दै चार दिनमै १०२ वटा डढेलोका घटना दर्ता भएको जनाएको छ ।
विभागका अनुसार सबैभन्दा बढी डढेलो घटना दाङमा १७ वटा दर्ता भएका छन् । त्यसपछि कपिलवस्तुमा १४, नवलपुरमा नौवटा डढेलोको घटना भएका छन् । सल्यान, सुर्खेत तथा कैलालीलगायतका जिल्लामा पनि उल्लेख्य सङ्ख्यामा डढेलोका घटना देखिएका छन् ।
तथ्याङ्कअनुसार केही जिल्लामा डढेलोको ‘विश्वसनीयता स्तर’ (६० प्रतिशतभन्दा बढी) उच्च रहेको छ । विशेषगरी कैलालीमा १२, डोटीमा ११, अर्घाखाँचीमा सात, गुल्मीमा छ र पाल्पामा पाँचवटा उच्च विश्वसनीयताका घटना देखिएको विभागले जनाएको छ ।
त्यस्तै यस अवधिमा संरक्षित क्षेत्रभित्र पनि डढेलोको जोखिम कायम रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी २३ वटा घटना दर्ता भएका छन् भने पर्सा राष्ट्रिय निकुञ्जमा १० र बाँके राष्ट्रिय निकुञ्जमा नौवटा डढेलोका घटना देखिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा पनि डढेलो फैलिएको विवरणमा उल्लेख छ । संरक्षित क्षेत्रतर्फ कुल ५७ वटा डढेलोका घटना र ३३ वटा उच्च विश्वसनीयताका घटना रेकर्ड भएका छन् । त्यसैगरी, बुधबारदेखि बिहीबारसम्म मात्र १५ वटा वन डढेलोको घटना भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
वन तथा भूसंरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले पछिल्ला दिनमा डढेलोका घटना फेरि बढ्न थालेको बताए । ‘अस्तिबाट डढेलोको घटना बढेको छ’ उनले भने ‘मनसुनले केही समय साथ दिएको थियो, तर अहिले पुनः सुक्खा अवस्था छ । सुक्खा भएका कारण सानो झिल्काले पनि आगो लाग्ने जोखिम उच्च छ ।’
प्रधानका अनुसार यदि निकट भविष्यमा वर्षा नभए डढेलोको जोखिम अझै बढ्न सक्नेछ । ‘अब पानी नपरेमा डढेलो थप फैलिन सक्छ’ उनले भने ।
महानिर्देशक प्रधानले बढ्दो तापक्रम, सुक्खा मौसम र मानवीय असावधानीलाई डढेलोका मुख्य कारणका रूपमा औँल्याउँदै सचेतना र पूर्वतयारी बढाउन आवश्यक रहेको बताए ।
विभागकै वन अधिकृत विजय ढकालले डढेलो नियन्त्रणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वय आवश्यक रहेको बताए । वन क्षेत्रमा आगो लगाउने, खरानी फाल्ने वा असावधानीपूर्वक आगो प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
नेपाल वन प्राविधिक सङ्घ (एनएफए) का अध्यक्ष राकेश कर्णले वन डढेलो नियन्त्रणका लागि प्रभावकारी वन व्यवस्थापन अपरिहार्य रहेको बताए । ‘जहाँ व्यवस्थित रूपमा वन व्यवस्थापन गरिएको छ, त्यहाँ डढेलोका घटना न्यून देखिएका छन्, तर व्यवस्थापन अभाव भएका क्षेत्रमा डढेलोको समस्या जटिल बन्दै गएको छ’ उनले भने ।
डढेलोसँगै वायु प्रदूषणमा पनि वृद्धि: काठमाडौँ पहिलो प्रदूषित सहर
देशका विभिन्न स्थानमा बढ्दै गएको डढेलोको असर काठमाडौँ उपत्यकाको वायुमण्डलमा स्पष्ट देखिन थालेको छ । पछिल्ला दिनमा वर्षा अभाव र सुक्खा मौसमका कारण डढेलोका घटना बढेसँगै उपत्यकामा वायु प्रदूषण पनि तीव्र रूपमा वृद्धि भएको हो ।
एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क आज बढेर १९६ पुगेको छ । यससँगै काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा सूचीकृत भएको छ । बिहीबार भने एक्युआई अझै बढेर २४७ पुगेको थियो, जुन ‘अत्यन्त अस्वस्थ’ तहमा पर्छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नहुनु, हावाको गति कम हुनु र तापक्रम बढ्नुजस्ता मौसमी अवस्थाले प्रदूषित कणहरू वायुमण्डलमै थुप्रिएको र उपत्यकामा वायु प्रदूषण बढेको जानकारी दिए ।
वातावरण युवा अभियन्ता राजन थापाले डढेलोबाट निस्कने धुवाँ, धुलो तथा सुक्ष्म कण (पीएम २.५) ले वायुमण्डललाई गम्भीर रूपमा प्रदूषित बनाउने जानकारी दिए । देशभर फैलिएको वायु प्रदूषणको अवस्थाबारे टिप्पणी गर्दै थापाले पछिल्लो तथ्याङ्कले व्यापक र गम्भीर प्रदूषणको अवस्था देखाएको बताएका छन् ।
एक्युआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । स्वास्थ्य विज्ञहरूले प्रदूषण बढेको समयमा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र सुरक्षित रहन सुझाव दिएका छन् ।
अझै केही दिन सुक्खा
जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनका अनुसार देशका विभिन्न भागमा देखिएको तुवाँलो र तातो मौसम क्रमिक रूपमा सुधार हुने सङ्केत देखिए पनि पूर्ण रूपमा हट्न भने अझै केही दिन कुर्नुपर्ने भएको छ ।
‘आइतबारदेखि मौसममा सुधार देखिन थाले पनि तुवाँलो पूर्ण रूपमा हट्नका लागि बुधबारसम्म प्रतीक्षा गर्नुपर्नेछ’ उनले भने ‘अर्को सातादेखि मात्रै राम्रो वर्षा हुने सम्भावना छ, वन डढेलो र प्रदूषण नियन्त्रणमा सहयोग गर्न सक्छ ।’
विभागका अनुसार आज पनि मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा ‘तातो दिन’को अवस्था कायम रहने सम्भावना रहेको विभागले जनाएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा ‘तातो हावाको लहर’ (लु) चल्ने जोखिमसमेत रहेको छ । मौसमविद्हरूले उच्च तापक्रम र तुवाँलोको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया