प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सोमबार देशभर सातु र सर्वत दान एवं सेवन गरी श्रद्धापूर्वक मनाइँदैछ।
शास्त्रीय विधानअनुसार बिहान सबेरै उठी घर लिपपोत गरेर स्नान गरिन्छ र पूजा सामग्री तयार पारी संकल्प गरिन्छ। दियो, कलश र गणेशको पूजा गरी कलशमाथि अष्टदल लेखिएको तामाको थाली राखिन्छ र त्यसमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ। पुरोहितलाई सम्मानपूर्वक पूजेर शुद्ध जलमा दालचिनी, ल्वाङ, सुकुमेल, अलैंची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत तयार गरिन्छ र जौँको सातुसहित दान गर्ने परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार यस दिन गरिएको स्नान, दान, जप, ध्यानजस्ता पुण्य कर्म कहिल्यै नास नहुने विश्वास छ। वैशाखको गर्मीमा जौँको सातु र सर्वतलाई अमृतसरह मानिने भएकाले दान गर्ने र स्वयं सेवन गर्ने परम्परा वैदिक कालदेखि चल्दै आएको हो। यस दिन गरिने घडा दानलाई ‘धर्मघट’ पनि भनिन्छ।
यसै अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। श्रद्धालुहरू पूजा–अर्चना गरी अक्षय फल प्राप्तिको कामना गर्छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया