काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेल ले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन पूर्ण रूपमा सचेत रहेको बताएका छन् ।
आइतबार केपी शर्मा ओली को पक्राउको विरोधमा नेकपा एमालेले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले प्रशासन राजनीतिक विषयमा नजाने तर हिंसात्मक तथा अशान्त गतिविधि नियन्त्रण गर्न सक्रिय रहने स्पष्ट पारे ।
उनले सरकारले दिएको जिम्मेवारी प्रशासनिक र पेशागत रूपमा निर्वाह गरिने उल्लेख गर्दै शनिबारका घटनाबारे अध्ययन गरिएको र अराजनीतिक तथा गैरकानुनी गतिविधिमा संलग्नलाई कानुनी कारबाही गरिने बताए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले हिंसात्मक गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गर्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत फैलिन सक्ने भ्रामक सूचनाप्रति पनि सचेत रहनुपर्नेमा जोड दिए ।
एमालेले पार्टी सचिवालय बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको थियो । सो पत्रमा संविधान, मानवअधिकार र विधिको शासनविपरीत भएका कदम सच्याउँदै पक्राउ परेकाहरूमाथि सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया