शिक्षामन्त्री पोखरेलको प्राथमिकता: शिक्षा र खेलकुदमा राजनीतिकरण अन्त्य गर्ने

126 Shares

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले शिक्षा र खेलकुद क्षेत्रमा व्याप्त राजनीतिकरण अन्त्य गर्ने बताएका छन्।

शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले पेशागत क्षेत्रमा भइरहेको राजनीतिक हस्तक्षेपका कारण काम गर्न कठिन भएको उल्लेख गर्दै यसलाई रोक्नु आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारे।

उहाँले खेलकुद निकायहरूमा राजनीतिक व्यक्तिभन्दा सम्बन्धित क्षेत्रका विज्ञ र अनुभवी व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय खेलकुद परिषद् लगायतका निकायहरूमा विशेषज्ञहरूलाई जिम्मेवारी दिने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो।

त्यस्तै, अखिल नेपाल फुटबल संघ (एन्फा) मा देखिएको विवादको मूल कारण पनि राजनीतिकरण नै रहेको उहाँको भनाइ छ। खेल क्षेत्रको समग्र विकासका लागि राजनीतिकरण रोक्नु आफ्नो कार्यकालको प्रमुख लक्ष्य हुने उहाँले बताउनुभयो।