काठमाडौं: नेकपा (एमाले)का सांसद क्षितिज थेवेले बलियो राष्ट्रिय अर्थतन्त्र निर्माण र गरिबी उन्मूलनका लागि आफ्नो पार्टीले संसद्मा प्रभावकारी भूमिका खेल्ने बताउनुभएको छ। पद तथा गोपनियताको शपथअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दुई तिहाइको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई शुभकामना दिंदै, प्राप्त जनादेश राष्ट्र निर्माण र मुलुकको समृद्धिमा सदुपयोग होस् भन्ने सुझाव दिनुभयो।
उहाँले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सरकारले औपचारिक रूपमा सार्वजनिक गरेपछि आफ्नो धारणा राख्ने जानकारी दिनुभयो। उनले भन्नुभयो, “संसदमा राष्ट्र र जनताको हितमा बलियो अर्थतन्त्र निर्माण, गरिबी उन्मूलन र समृद्ध नेपाल निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्नेछौँ।
जेन–जी प्रतिवेदन हाल मिडियामार्फत आएको छ; सरकारले औपचारिक रूपमा सार्वजनिक गरेपछि आफ्नो धारणा सार्वजनिक गरौँला। मूलतः अब बन्ने सरकारलाई शुभकामना दिन चाहन्छु।
जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाइको जनादेश दिएका छन्, र यो जनादेश राष्ट्र निर्माणमा सदुपयोग होस्।” गत फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूले बिहीबार दिउँसो २ बजे पद तथा गोपनियताको शपथ लिँदैछन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया