काठमाडौं: नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित कार्की आयोग निष्पक्ष नभएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आयोगकै प्रतिवेदनले यो कुरा पुष्टि गरेको बताएका हुन्।
उनका अनुसार कार्की आयोग र आम निर्वाचन ०८२ दुवै ‘अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक तथा कानुनी वैधानिकता दिने प्रयास’का रूपमा देखिएका छन्। उनले सोहीअनुसार निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको दाबी गरेका छन्। पोखरेलले नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भइरहेको उल्लेख गर्दै ‘अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको’ बताएका छन्।
उनका अनुसार यस्तो अवस्थाले राष्ट्र र लोकतन्त्र दुवैलाई केही समय चुनौती सामना गर्नुपर्ने देखिन्छ। उनले यस्तो अवस्थामा ‘नयाँ शक्ति’ र ‘नेतृत्व’लाई आफ्ना दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवका आधारमा मूल्यांकन गर्न दिनु नै विवेकपूर्ण कदम हुन सक्ने बताएका छन्।
तर उनले स्पष्ट पारेका छन् कि लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद वर्तमान चुनौतीहरूको समाधानको बाटो होइनन् र दीर्घकालीन रूपमा विचारधारात्मक राजनीतिको विकल्प पनि होइनन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया