पश्चिमी वायुको प्रभाव : देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

15 Shares

काठमाडाैं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको जनाइएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने तथा अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने बताइएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने तथा तराईका भू–भागमा मौसम आंशिकदेखि सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने सम्भावित जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।