फिल्म ‘आबाट आमा’ ५१ दिन मनायो, १३ करोड ग्रस कमाइ; दोस्रो भागको घोषणा

55 Shares

काठमाडौं । नेपाली फिल्म ‘आबाट आमा’ ले प्रदर्शनको ५१ दिन पूरा गरेको छ । यस अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा निर्माण टोलीले कलाकार, प्राविधिक, सञ्चारकर्मी, वितरक तथा प्रदर्शकलाई सम्मानपत्र प्रदान गरेको छ ।

निर्देशक चन्द्र पन्तले दर्शकको साथप्रति आभार व्यक्त गर्दै फिल्मलाई सफल बनाउन योगदान दिने सबैप्रति धन्यवाद दिएका छन् । उनका अनुसार फिल्म हाल देशभरका २५ हलमा प्रदर्शन भइरहेको छ ।

चलचित्र विकास बोर्डका अनुसार फिल्मले हालसम्म कम्तीमा १३ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । पहिलो भागले राम्रो व्यापारिक सफलता हासिल गरेपछि निर्माण पक्षले यसको दोस्रो श्रृंखला बनाउने घोषणा पनि गरेको छ ।

निर्देशक पन्तका अनुसार ‘आबाट आमा २’ को छायांकन आगामी वैशाख दोस्रो साताबाट सुरु हुने तयारी छ । दोस्रो भागको कथा पहिलो भागसँग नजोडिएको र पूर्ण रूपमा नयाँ हुने उनले स्पष्ट पारे ।

उनका अनुसार नयाँ भागमा भावनात्मक कथावस्तु, नयाँ टिम र सम्भवतः नयाँ कलाकारहरू रहनेछन् । हालसम्म अभिनेता पल शाह मात्र दोस्रो भागका लागि अनुबन्धित भएका छन् भने बाँकी कलाकार टुंगो लाग्न बाँकी छ ।

पहिलो भागमा काम गरेका प्राविधिक टोली भने यथावत रहने निर्माण पक्षले जनाएको छ ।