रास्वपा सांसद अभिमुखीकरण: दोस्रो दिन योग–ध्यानबाट सुरू, आज समापन मन्तव्य रवि लामिछाने ले दिने

168 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन आज योग–ध्यान कक्षासँगै सुरू भएको छ।

ललितपुरस्थित होटल टुलिप मा मंगलबारदेखि सुरु भएको कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरू सहभागी छन्।

कार्यक्रमको उद्देश्य सांसदहरूलाई संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया र निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयमा स्पष्ट समझ र साझा दृष्टिकोण विकास गराउनु रहेको रास्वपाले जनाएको छ।

यसका साथै नेपालको संवैधानिक व्यवस्था, संसद् सञ्चालन प्रणाली, सुशासन, पारदर्शिता, नीति विश्लेषण, जनप्रतिनिधिको आचरण तथा सञ्चार र सार्वजनिक उत्तरदायित्वका विषयमा समेत प्रशिक्षण दिइँदैछ।

आजको प्रशिक्षण तालिका

पूर्वनिर्धारित कार्यतालिका अनुसार:

  • तोयानारायण ज्ञवाली ले बिहान ९:००–९:४५ बजे “सरकार सञ्चालन प्रक्रिया: योजना तथा बजेट निर्माण” विषयमा प्रशिक्षण दिनेछन्।

  • प्रताप कुमार पाठक ले ९:४५–१०:४५ बजे “सुशासन: अवधारणा र अभ्यास” विषयमा प्रस्तुति दिनेछन्।

  • त्यसपछि कविन्द्र बुर्लाकोटी र आरके ढुंगाना ले पार्टी र सांसदबीचको सम्बन्ध, नयाँ राजनीतिक संस्कार, आचारसंहिता तथा न्यूनतम प्रतिबद्धताबारे धारणा राख्नेछन्।

यसपछि सांसदहरूबाट एजेण्डा प्राथमिकता निर्धारण सम्बन्धी समूह कार्य र प्रस्तुति हुनेछ।

समापन सत्र

मध्याह्न १२ बजेपछि समापन सत्र सुरु हुनेछ। यस क्रममा प्रतिभा रावल र मनिष झा ले एजेण्डा प्राथमिकता निर्धारण सम्बन्धी प्रस्तुति सहजीकरण गर्नेछन्।

सहभागीका तर्फबाट धन्यवाद मन्तव्य प्रशान्त उप्रेती र खिमा विक ले राख्ने कार्यक्रम छ।

अन्त्यमा दिउँसो साढे १२ देखि १ बजेसम्म पार्टी सभापति रवि लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताबारे समापन मन्तव्य दिनेछन्।

दिउँसो १ बजे खाजासँगै अभिमुखीकरण कार्यक्रम सम्पन्न हुने तालिका रहेको छ।