आजदेखि आइतबार पनि सरकारी कार्यालय खुल्ने

48 Shares

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले आइतबार पनि सरकारी कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको यो निर्णय आइतबार (मंसिर १३) देखि लागू भएको हो । गाउँ कार्यपालिकाको शनिबार बसेको बैठकले गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरू आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेको हो ।

यससँगै गाउँपालिकामा अब सातामा शनिबार मात्र सार्वजनिक बिदा हुनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले जारी गरेको सूचनामा स्थानीय भौगोलिक अवस्था र सेवाप्रवाहको आवश्यकतालाई निर्णयको आधार बनाइएको छ । अन्य सहरी क्षेत्रको तुलनामा यहाँ सवारीसाधनमा पेट्रोलियम पदार्थको खपत कम हुने भएकाले इन्धन बचतका लागि सातामा दुई दिन बिदा दिनु उपयुक्त देखिएको छैन ।

आइतबार स्वास्थ्य संस्था बन्द हुँदा दुर्गम क्षेत्रका नागरिक उपचार सेवाबाट वञ्चित हुन सक्ने र आकस्मिक स्वास्थ्य सेवा सञ्चालनमा समेत कठिनाइ आउन सक्ने जनाइएको छ । सरकारले यसअघि पेट्रोलियम पदार्थको आपूर्ति र मूल्यमा देखिएको असहजतालाई मध्यनजर गर्दै सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेको थियो । तर स्थानीय आवश्यकता र नागरिकलाई नियमित सेवा उपलब्ध गराउने उद्देश्यले खुम्बु पासाङल्हामु गाउँपालिकाले आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।