नेपाली कांग्रेसका सभापति गगन थापालगायतका नेताविरुद्ध हिरासतमा रहेका व्यक्तिलाई दबाब र धम्की दिएर बयान दिन लगाइएको आरोप सार्वजनिक भएपछि कांग्रेसले संसदीय छानबिनको माग गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले इनम सापकोटा प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने भन्दै संसदीय समिति गठन गर्न माग गर्नुभएको हो।
सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानव अधिकार आयोगमा दिएको निवेदनमा आफूलाई गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको उल्लेख गर्नुभएको छ । निवेदनमा बयान दिए रिहा गर्ने र नदिए फसाइदिने धम्की दिइएको दाबी गरिएको छ । आङ्देम्बेले तयार पारिएको बयान पढ्न बाध्य पारिएको र त्यसमा असहमत भए थप समस्यामा पार्ने चेतावनी दिइएको भन्ने आरोप गम्भीर रहेको बताउनुभएको छ ।
उहाँले यस विषयलाई सामान्य घटनाका रूपमा लिन नहुने भन्दै अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठाउनुभएको छ । हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत रूपमा नियन्त्रणमा लिइएको र त्यसको दुरुपयोग भएको भनिएको विषयसमेत छानबिन गर्नुपर्ने कांग्रेसको माग छ ।
बयान तयार पार्ने कार्यमा को–को संलग्न थिए भन्ने विषय पनि स्पष्ट हुनुपर्ने आङ्देम्बेको भनाइ छ।राज्यका अनुसन्धान निकायलाई राजनीतिक प्रतिशोध साँध्ने माध्यम बनाउन नहुने उल्लेख गर्दै उहाँले सरकारलाई संविधान र कानुनी शासनको मर्यादाभित्र रहेर काम गर्न आग्रह गर्नुभएको छ । यस प्रकरणमा लगाइएका आरोपहरूको स्वतन्त्र तथा निष्पक्ष छानबिन हुनुपर्ने माग कांग्रेसले अघि सारेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया