आज पनि वर्षाको सम्भावना, केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्न सक्ने

161 Shares

काठमाडौं ।
मौसमविद्ले आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

यसैगरी मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसमविद्हरूले बताएका छन्। यही प्रभावका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको हो।

चितवन र लमजुङमा धेरै वर्षा

हिजो काठमाडौं उपत्यकासहित देशका मध्य तथा पूर्वी क्षेत्रमा हावाहुरीसहित वर्षा भएको थियो।

सबैभन्दा धेरै वर्षा चितवनमा मापन गरिएको छ। चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा १२६ मिलिमिटर वर्षा भएको रेकर्ड छ। त्यसैगरी लमजुङको घरेढुंगामा १२० मिलिमिटर वर्षा मापन भएको छ।

यसैगरी उदयपुरको कटारीमा ९८.४ मिलिमिटर, झापाको चन्द्रगढी विमानस्थलमा ९६.४ मिलिमिटर, गोरखाको बारपाकमा ९० मिलिमिटर, झापाको शनिश्चरेमा ८६.६ मिलिमिटर र कन्काईमाई चुलीमा ८३.२ मिलिमिटर वर्षा भएको रेकर्ड छ।

केही स्थानमा असिनासहित वर्षा भएको विवरण पनि प्राप्त भएको छ।

सिन्धुपाल्चोक, नुवाकोटसहित अन्य जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको थियो भने काठमाडौंका केही स्थानमा छिटफुट वर्षा मापन गरिएको छ।