काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारत र श्रीलङ्कामा सम्पन्न टी–२० विश्वकप क्रिकेटमा समूह चरणबाट बाहिरिएको नेपाललाई करिब ३ करोड ७७ लाख ५७ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ।
आईसीसीले बुधबार प्रतियोगितामा सहभागी टोलीलाई प्रदान गरिने पुरस्कार रकम सार्वजनिक गर्दै नेपाललाई उक्त रकम दिने घोषणा गरेको हो। नेपालसँगै इटाली, संयुक्त अरब इमिरेट्स र नेदरल्यान्ड्सले पनि समान रकम प्राप्त गरेका छन्।
आईसीसीले कूल एक करोड १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्ये विश्वकप विजेता भारतले २६ लाख ३९ हजार ४२३ अमेरिकी डलर प्राप्त गरेको छ। त्यस्तै उपविजेता न्युजिल्यान्डले १४ लाख २२ हजार ६०२ अमेरिकी डलर पाउँदा तेस्रो भएको दक्षिण अफ्रिकाले १० लाख ५ हजार ५७७ अमेरिकी डलर प्राप्त गरेको छ।
सेमिफाइनलमा पुगेको इङ्गल्यान्डले ९ लाख ७४ हजार ४२३ अमेरिकी डलर प्राप्त गरेको छ। सुपर–८ मा पुगेका वेस्ट इन्डिज, पाकिस्तान, जिम्बाब्वे र श्रीलङ्काले पनि लाखौँ डलर पुरस्कार प्राप्त गरेका छन्।
त्यस्तै समूह चरणबाट बाहिरिएका अफगानिस्तान, अष्ट्रेलिया र अमेरिकाले समान ३ लाख ९ हजार ८०८ अमेरिकी डलर प्राप्त गरेका छन्। स्कटल्यान्डले २ लाख ७८ हजार ६५४ र आयरल्यान्डले २ लाख ७१ हजार ७३१ अमेरिकी डलर पाएका छन्।
क्यानडा, नामिबिया र ओमानले भने समान २ लाख २५ हजार अमेरिकी डलर प्राप्त गरेका छन्। २० टोली सहभागी प्रतियोगिताको फाइनलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया