राष्ट्रिय लिग फुटसल: मनाङ मर्स्याङ्दी क्लबको जित

62 Shares

काठमाडौं । राष्ट्रिय लिग फुटसलअन्तर्गत शीर्ष डिभिजनमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलबार राति भएको खेलमा मनाङले चित्लाङ फुटबल क्लबलाई २–० गोलले पराजित गरेको हो।

मनाङको जितमा शाईरब लो तामाङ र सुमित मल्लले समान एक–एक गोल गरे। मनाङले दुवै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ४९औँ मिनेटमा शाईरबले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

इन्जुरी समयमा सुमितले अर्को गोल थप्दै मनाङको अग्रतालाई दोब्बर बनाए र टोलीको जित सुनिश्चित गरे।

यो जितसँगै मनाङले प्रतियोगितामा १२ अंक जोडेको छ। मनाङले १० खेल खेल्दा तीन जित, तीन बराबरी र चार हारको नतिजा निकालेको छ।

पराजित चित्लाङ भने नौ खेल खेलिसक्दा पनि अंकविहीन रहेको छ।