काठमाडौं । तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाको जीवन अहिले फेरिएको छ। विकास निर्माणका योजनामा ज्याला मजदुरी गर्दै गुजारा चलाउनुपर्ने अवस्थाबाट उनी अहिले व्यावसायिक तथा अगुवा किसान बनेका छन्। आफ्नै गाउँमा कृषि उद्यम सुरु गरेर आर्थिक आत्मनिर्भरता हासिल गरेका बानियाको तीन दशक लामो कृषि यात्राले स्थानीय स्तरमै श्रम र उद्यममार्फत जीवनस्तर परिवर्तन गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ।
विसं २०५२ मा लुम्लेमा कृषि तालिम लिएपछि बानियाले व्यावसायिक तरकारीखेती सुरु गरेका थिए। सुरुमा सानो क्षेत्रफलबाट थालेको खेतीलाई निरन्तर विस्तार गर्दै उनले अहिले ‘हराभरा कृषि तथा पशुपन्छी फार्म’ सञ्चालन गरिरहेका छन्। कृषि पेसाप्रतिको लगाव, निरन्तर मेहनत र आफ्नै ठाउँमा सम्भावना खोज्ने सोचले उनलाई मजदुरीबाट सफल किसानको परिचय दिलाएको हो।
सुरुवाती दिनमा खेतीपाती र विकास निर्माणका योजनामा मजदुरी गरेर परिवारको खर्च धान्न उनलाई कठिन थियो। नियमित आम्दानीको अभाव र आर्थिक समस्याबाट मुक्त हुन उनले तरकारीखेतीलाई व्यावसायिक रूपमा अघि बढाउने निर्णय गरेका थिए।
“खेतीपातीको काम र विकास निर्माणका योजनामा मजदुरी गरेर जीविकोपार्जन गर्न कठिन भएपछि तरकारीखेती सुरु गरेको हुँ,” बानियाँले भने, “तरकारीखेतीले ज्याला मजदुरी गर्नुपर्ने र ऋण खोज्नुपर्ने बाध्यता हटाएको छ । आर्थिक अवस्था सुधार हुनुका साथै अरूलाई रोजगारी दिन सकेको छु।”
सानो क्षेत्रफलबाट सुरु गरेको कृषि कर्म अहिले उनको मुख्य आम्दानीको स्रोत बनेको छ। बानियाँले हाल साढे दुई रोपनी जमिनमा तरकारीखेती तथा विभिन्न जातका बिरुवा उत्पादन गर्दै आएका छन्। त्यसैगरी, तीन रोपनी क्षेत्रफलमा केराखेती गरेका छन्। सिँचाइका लागि निर्माण गरिएको पोखरीमा माछापालनसमेत गर्दै आएका छन्।
उनले सञ्चालन गरेको हराभरा कृषि तथा पशुपन्छी फार्मबाट वार्षिक १२ देखि १५ लाख रुपैयाँसम्मको कारोबार हुने गरेको छ। विभिन्न प्रकारका तरकारी, फलफूल तथा बिरुवा उत्पादनलाई एकैसाथ अघि बढाउँदा फार्मको आम्दानीका स्रोत पनि विविध बनेका छन्।
बानियाँको फार्ममा तीनवटा स्थायी प्रकृतिका प्लास्टिक घर निर्माण गरिएका छन्। ती प्लास्टिक घरमा मौसमअनुसार विभिन्न प्रकारका तरकारी उत्पादन हुँदै आएका छन्। सिमी, साग, बन्दा, काउली, गोलभेँडा, ब्रोकाउली र घिरौँलालगायत तरकारी उनले उत्पादन गर्ने गरेका छन्।
मौसमी तरकारीसँगै बेमौसमी उत्पादनलाई पनि प्राथमिकता दिएका कारण वर्षभरि खेतीलाई निरन्तरता दिन सहज भएको छ। हिउँदयाममा प्याज, बन्दा र काउलीका बिरुवा उत्पादन गरी बिक्री गर्ने गरेका छन्। तरकारीसँगै बिरुवा उत्पादनबाट पनि आम्दानी हुने भएकाले उनको कृषि फार्मले विभिन्न उत्पादनमा अवसर सिर्जना गरेको छ।
उत्पादित तरकारी बेनी बजार र सिंगाको तातोपानी क्षेत्रमा बिक्री हुने गरेको छ। पछिल्लो समय फोनमार्फत नै व्यापारीसँग सम्पर्क गरेर कारोबार गर्न सहज भएको बानियाँ बताउँछन्। व्यापारीले फार्मबाटै तरकारी खरिद गरी लैजाने र रकम बैंक खातामा जम्मा गरिदिने भएपछि बजारसम्म पुग्नुपर्ने समय तथा खर्चसमेत बचत भएको छ।
यसले उनको उत्पादन बिक्री गर्न सहज बनाएको छ। पहिले बजारसम्म आफैँ पुगेर बिक्री गर्नुपर्ने अवस्थाको तुलनामा अहिले फोनबाटै अर्डर लिने र व्यापारीलाई तरकारी उपलब्ध गराउने व्यवस्था मिलेको छ। कृषि उत्पादनको बजारीकरणमा आएको सहजताले व्यावसायिक खेतीलाई थप निरन्तरता दिन सहयोग पुगेको उनको अनुभव छ।
कृषि पेसामा लागेपछि परिवारको आर्थिक अवस्थामा सुधार आएको बानियाँ बताउँछन्। तरकारीखेतीबाट नियमित आम्दानी हुन थालेपछि घरखर्च चलाउन, छोराछोरीको पढाइ खर्च जुटाउन र दैनिक आवश्यकता पूरा गर्न सहज भएको छ।
“तरकारीखेती सुरु गरेपछि घरमा पैसाको अभाव भएको छैन । छोराछोरी पढाउन र घरखर्च चलाउन सहज भएको छ,” उनले भने, “विदेशको कमाइ भेलबाढीजस्तै हो । आफ्नै ठाउँमा गरेको उद्यमबाट हुने आम्दानी थोरै भए पनि दिगो र स्थायी हुन्छ।”
वैदेशिक रोजगारीबाट हुने आम्दानीभन्दा आफ्नै ठाउँमा निरन्तर श्रम गरेर सिर्जना गरेको आम्दानीलाई उनले बढी दिगो मानेका छन्। आफ्नै जमिन र स्थानीय सम्भावनाको उपयोग गरेर पनि परिवारको आर्थिक अवस्था सुधार गर्न सकिने उनको अनुभव छ।
बानियाँले अब माहुरीपालन विस्तार गर्ने तयारीसमेत गरेका छन्। कृषि कर्मबाटै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको उनी बताउँछन्। कृषि क्षेत्रमा गरेको योगदान र सक्रियताका कारण कृषि विकास कार्यालयलगायत विभिन्न निकायबाट उनी पुरस्कृतसमेत भएका छन्।
सिंगा क्षेत्र ताजा तरकारी तथा फलफूलखेतीको पकेट क्षेत्रका रूपमा परिचित छ। यहाँका किसानलाई व्यावसायिक कृषि उत्पादनमा प्रोत्साहन गर्न बेनी नगरपालिका–४ को वडा कार्यालयले कृषि उपकरण तथा सामग्री अनुदानमा उपलब्ध गराउँदै आएको वडाध्यक्ष अणबहादुर खड्काले बताए।
उनका अनुसार आफ्नै ठाउँमा सम्भावना खोजेर कृषि उद्यममा सफल भएका बानियाँ स्थानीय किसानका लागि प्रेरणादायी उदाहरण हुन्।
“विदेश नगई आफ्नै ठाउँमा सम्भावना खोजेर सफल हुनुभएका तेजबहादुर व्यावसायिक किसानका लागि उदाहरण हुनुहुन्छ,” वडाध्यक्ष खड्काले भने, “उहाँको सङ्घर्ष, पेसाप्रतिको लगाव, निरन्तरता र इमान्दारिताबाट अरूले पनि प्रेरणा लिन सक्छन्।”
मजदुरी गरेर जीविकोपार्जन गर्न कठिन भएपछि कृषि तालिम लिएर व्यावसायिक खेतीमा लागेका बानियाँले तीन दशकको अवधिमा आफ्नो जीवनशैली परिवर्तन गर्न सफल भएका छन्। सानो क्षेत्रफलबाट सुरु भएको उनको कृषि यात्रा अहिले तरकारी, फलफूल, बिरुवा उत्पादन र माछापालनसम्म विस्तार भएको छ।
उनको अनुभवले स्थानीय जमिन, श्रम र सीपको उपयोग गर्न सके आफ्नै गाउँमा पनि रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न सकिने देखाएको छ। वैदेशिक रोजगारीलाई मात्र आर्थिक उन्नतिको विकल्प ठान्ने प्रवृत्तिबीच बानियाँको सफलताले स्वदेशमै कृषि उद्यममार्फत आत्मनिर्भर बन्न सकिने सन्देश दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया