काठमाडौं । साफ यू–१९ महिला च्याम्पियनशिप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको छ।
पोखरा रंगशालामा सोमबार साँझ सम्पन्न खेलमा नेपालले भूटानलाई २–१ गोल अन्तरले हराएको हो। प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो भने भूटान बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले हार बेहोरेको थियो।
सोमबारै भएको अर्को खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो।
हालसम्म सबै टोलीले दुई–दुई खेल खेलिसकेका छन्। लगातार दुई जितसहित ६ अंक जोडेको बङ्गलादेश शीर्ष स्थानमा रहेको छ। समान खेलबाट ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ भने भारत पनि ३ अंकका साथ तेस्रो स्थानमा छ। अंकविहीन भूटान तालिकाको पुछारमा रहेको छ।
अब नेपालले समूह चरणको आफ्नो अन्तिम खेल बुधबार बङ्गलादेशविरुद्ध खेल्नेछ। सिंगल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया