अभ्यास खेलमा नेपाललाई सान्त्वना जित, श्रीलंका ‘ए’ विरुद्ध ७ विकेटले विजय

177 Shares

आईसीसी पुरुष टी–२० विश्वकपको तयारीका क्रममा भइरहेको अभ्यास शृङ्खलाको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले शानदार जित दर्ता गरेको छ। शनिबार सम्पन्न तेस्रो अभ्यास खेलमा नेपालले श्रीलंका ‘ए’ लाई ७ विकेटले पराजित गर्दै शृङ्खलाको सुखद् अन्त्य गरेको हो।

यसअघि खेलेका दुई अभ्यास खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो। श्रीलंका ‘ए’ ले दिएको १ सय ३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमै ३ विकेट गुमाएर सहज रूपमा पूरा गर्‍यो।

नेपालको जितमा ओपनर कुशल भुर्तेल मुख्य नायक बने। उनले ३५ बलमा ४९ रन बनाउँदै अर्धशतकबाट एक रनले चुके पनि टोलीको जितको आधार तयार पारे।
उपकप्तान दीपेन्द्र सिंह ऐरी १५ बलमा २२ रन बनाएर अविजित रहे।
आरिफ शेख ले २२ बलमा २४ रनको योगदान दिए भने कप्तान रोहितकुमार पौडेल ले १९ रन जोडे।
ओपनर आशिफ शेख भने ११ रनमै आउट भए।

बलिङतर्फ नेपालले कसिलो प्रदर्शन गर्दै श्रीलंका ‘ए’ लाई ठूलो स्कोर बनाउन दिएन, जसका कारण लक्ष्य पछ्याउन सहज भयो।

अब विश्वकप तयारीको अर्को चरणमा नेपाल श्रीलंकाबाट सिधै भारत प्रस्थान गर्नेछ, जहाँ थप अभ्यास खेलहरू खेल्ने कार्यक्रम रहेको छ।