ओली भन्छन्– सरकारले विमानस्थलमा आफूलाई सुन तस्कर झैँ अपमानित गर्‍यो

204 Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको टिप्पणी गरेका छन्। गृहजिल्ला झापाबाट शुक्रबार काठमाडौं फर्कँदा विमानस्थलमा आफूलाई सुन तस्कर जस्तो व्यवहार गरिएको गुनासो उनले व्यक्त गरे।

शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, “अस्थी म यताबाट झापा जाँदा मलाई अलि राम्रै व्यवहार भएको थियो एयरपोर्टमा। हिजो फर्केर आउँदा के के न सुन तस्कर झैँ गरेर चेकिङ गरिएको छ, हैरान पारेको छ।”

उहाँले थपे, “माथिबाट आदेश आएको भन्छन्। यो सरकार के गर्दैछ भन्नेदेखि बेठिक, अन्यायपूर्ण र अपमानजनक छ। सरकार हामीलाई दुख दिने काममा र अपमान गर्ने काममा लागि राखेको छ। हामी आफ्नो सम्मानका लागि होइन, देश र जनताको सम्मानका लागि लडिरहेका छौं।”

अध्यक्ष ओलीले सरकारले देखाएको दृष्टिकोणलाई अराजनीतिक र असभ्य भएको भन्दै यसलाई सुधार्न सभ्य, सुसंस्कृत समाजमा फर्काउन चुनावमार्फतै समाधान देखिएको बताए।

उहाँले देशलाई सही बाटोमा अघि बढाउन एमालेले मात्रै सरकार बनाउनुको विकल्प नभएको पनि जोड दिए।