काठमाडौं । नाबालिगलाई ‘ग्रुमिङ’ (मानसिक रूपमा जालमा पार्ने) र न्यायमा लैङ्गिक पक्षपातको विषयमा बहस छेड्ने एउटा पुरानो घटना अहिले सामाजिक सञ्जालमा फेरि चर्चामा आएको छ। यस क्रममा, पूर्वशिक्षिका डेब्रा लाफेभको कानुनी मुद्दा उनको गिरफ्तारीको दशकौंपछि पनि गम्भीर समीक्षा भइरहेको छ।
सन् २००४ मा तत्कालीन २४ वर्षीय लाफेभलाई आफ्नै १४ वर्षीय विद्यार्थीसँग यौन सम्बन्ध राखेको आरोपमा पक्राउ गरिएको थियो। लाफेभ पूर्वमोडल भएकाले र सञ्चारमाध्यमले यसलाई सनसनीपूर्ण रूपमा प्रस्तुत गरेकाले घटना तत्कालै ठूलो चर्चा पायो।
उनीमाथि ल्युड एन्ड लासिभियस ब्याट्री जस्तो गम्भीर आरोप लागेको थियो। यो कानुन अनुसार अश्लील वा यौन उद्देश्यले कसैको अनुमतिविना संवेदनशील अंग छुनु वा स्पर्श गर्नु गम्भीर अपराध मानिन्छ। नाबालिगसँग यस्ता गतिविधि भएमा १०–१५ वर्ष जेल सजाय हुन सक्ने प्रावधान भए पनि लाफेभले केवल नजरबन्द र निगरानीको सजाय पाएर जेल जानबाट जोगिएकी थिइन्।
सन् २००५ नोभेम्बरमा उनले ‘प्ली डिल’ (कसुर स्वीकार गरी सजाय कम गर्ने सम्झौता) स्वीकार गरिन्। यस अन्तर्गत उनलाई ३ वर्ष नजरबन्द, ७ वर्षको प्रोबेसन र शिक्षण लाइसेन्समा स्थायी प्रतिबन्धको सजाय सुनाइएको थियो।
यो खुकुलो सजायले व्यापक बहस सिर्जना गर्यो। आलोचकहरूले भने, यदि अपराधी पुरुष शिक्षक र पीडित छात्रा भएको भए दशकौँ जेल सजाय भोग्नुपर्ने थियो। अभियोजन पक्षले भने, पीडितकी आमाले आफ्नो छोराले सार्वजनिक ट्रायलको मानसिक आघात नपाओस् भनेर यस्तो सहमति दिएको बताएको थियो।
त्यस समयको सञ्चारमाध्यमको होहल्लामा तत्कालीन घरजग्गा व्यवसायी डोनाल्ड ट्रम्पले सन् २००५ अक्टोबरमा ‘एक्स्ट्रा’ कार्यक्रममा भनेका थिए, “मलाई लाग्छ उनीहरू (विद्यार्थीहरू) सायद यसको बारेमा धाक लगाएर हिँडिरहेका होलान्। मलाई लाग्दैन कि यसबाट धेरै क्षति पुगेको छ।” उनले ती शिक्षिकाका श्रीमानप्रति सहानुभुति प्रकट गर्दै भनेका थिए, “उनी संसारकै सबैभन्दा दुःखी व्यक्ति हुनुपर्छ।”
त्यतिबेला यी टिप्पणीहरू सामान्य गफ वा ठट्टाको रूपमा हेरिएको भए पनि अहिले मनोवैज्ञानिक विशेषज्ञहरूले यसको अँध्यारो पाटो औँल्याएका छन्। विशेषज्ञहरूका अनुसार यस्तो सम्बन्ध पूर्ण रूपमा अधिकारको दुरुपयोग हो र नाबालिगका लागि गम्भीर प्रभाव पार्ने खालको हुन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया