च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, स्लाभिया प्राहा ४–२ ले पराजित

174 Shares

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले महत्वपूर्ण जित हात पारेको छ। बार्सिलोनाले चेक गणराज्यको क्लब स्लाभिया प्राहालाई ४–२ गोलअन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा फर्मिन लोपेजले दुई गोल गर्दै निर्णायक भूमिका खेले। डानी ओल्मो र रोबर्ट लेवान्डोस्कीले एक–एक गोल गरे। स्लाभिया प्राहाका लागि भासिल कुसेजले एक गोल गर्दा लेवान्डोस्कीबाट भएको आत्मघाती गोल उपहारस्वरूप पायो।

खेलको सुरुवातमै स्लाभियाले अग्रता लिएको थियो। १०औँ मिनेटमा कुसेजले गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए। त्यसपछि ३४औँ मिनेटमा फर्मिन लोपेजले बराबरी गोल फर्काए भने ४२औँ मिनेटमा उनले नै दोस्रो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।

तर पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा लेवान्डोस्कीबाट आत्मघाती गोल हुँदा खेल पुनः बराबरीमा पुगेको थियो। दोस्रो हाफको ६३औँ मिनेटमा डानी ओल्मोले गोल गर्दै बार्सिलोनालाई ३–२ ले अघि बढाए। त्यसपछि ७०औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको ४–२ को जित सुनिश्चित गरे।

यो जितसँगै ७ खेलबाट १३ अंक जोडेको बार्सिलोना अंक तालिकाको नवौँ स्थानमा उक्लिएको छ। स्लाभिया प्राहा भने ३ अंकसहित ३४औँ स्थानमा सीमित रहेको छ।