सन् १९९५ को डिसेम्बरमा अमेरिकी सिनेटमा भएको बहसले आधुनिक इतिहासको एउटा तीतो यथार्थ उजागर गरेको थियो – युरोप आफ्नै खुट्टामा उभिन असमर्थ छ। तत्कालीन सिनेटर जो बाइडेनले बोस्नियामा अमेरिकी सेना पठाउने विषयमा बोल्दै युरोपेली राष्ट्रहरूको निर्णय क्षमता र सार्वभौमसत्तामाथि प्रश्न उठाएका थिए। उनका अनुसार वास्तविक संकटमा युरोप आफ्नै सुरक्षा आफैं गर्न सक्दैन र अमेरिकी नेतृत्वको अभावमा नेटो केवल नाममात्रको संगठन हो।
सन् १९९० को दशकको सुरुमा बाल्कनमा गृहयुद्ध र नरसंहार चलिरहेको बेला फ्रान्स, बेलायत र जर्मनी मूकदर्शक बनेका थिए। बाइडेनले सिनेटमा भने, “अमेरिकाबिना युरोप एकजुट रहन सक्दैन। युरोपमा कुनै नैतिक केन्द्र छैन।” उनले यस अघि पछिल्ला दुई शताब्दीमा युरोपले आफैं महाद्वीपलाई एकताबद्ध गर्न सकेको छैन भनी प्रश्न समेत उठाए।
बाइडेनको मुख्य तर्क थियो – युरोपेली राष्ट्रहरूले नामका लागि मात्र सार्वभौमसत्ता अभ्यास गरिरहेका छन्। वास्तविक संकटको समयमा उनीहरू आफ्नो सुरक्षा आफैं गर्न सक्दैनन्। यही कारणले अमेरिकी हस्तक्षेप अपरिहार्य हुन्छ। यसै सन्दर्भमा अमेरिका युरोपलाई विखण्डन हुनबाट जोगाउने शक्ति बनेको छ। दुई विश्वयुद्धमा पनि युरोपले आफूलाई विनाशको खाडलमा पुर्याउँदा अमेरिकाले नै उद्धार गरेको इतिहास बाइडेनले उदाहरणको रूपमा प्रस्तुत गरेका थिए।
यो तर्क ३० वर्षपछि पनि सान्दर्भिक छ। सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्धको समयमा पनि युरोप अमेरिकी नेतृत्व र हतियारमा निर्भर रह्यो। यसै सन्दर्भमा ग्रीनल्याण्डको विषयले अमेरिकाको रणनीतिक स्वार्थलाई देखाउँछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्र ग्रीनल्याण्डलाई आफ्ना लागि अधिग्रहण गर्न चाहेका थिए। विश्व समुदायको विरोध र डेनमार्कको अस्वीकृतिपछि पनि ट्रम्प आफ्नो अडानमा अडिग थिए।
तर, अमेरिकाले ग्रीनल्याण्ड अधिग्रहणको प्रयास हालको प्रशासनमा मात्रै होइन; यो १५८ वर्ष पुरानो रणनीतिक अभियानको भाग हो। ग्रीनल्याण्डमा सन् १९७९ देखि स्वशासन छ, तर रक्षा र परराष्ट्र नीति डेनमार्कको नियन्त्रणमा छ।
‘आर्कटिक मिशन’ अन्तर्गत सन् १८६७ मा रूसबाट अलास्का किनिसकेपछि तत्कालीन अमेरिकी विदेशमन्त्री विलियम सिवार्डले आर्कटिकमा प्रभाव विस्तार गर्न ग्रीनल्याण्ड अधिग्रहणको प्रस्ताव ल्याएका थिए। त्यसमा कोइला लगायत प्राकृतिक स्रोतको महत्व थियो, तर अमेरिकी कांग्रेसको रुचि कम भएको कारण प्रस्ताव अघि बढेन।
पछि अमेरिकी राष्ट्रपति विलियम हावर्ड ट्याफ्टको प्रशासनमा फेरि ग्रीनल्याण्डलाई अमेरिका भित्र ल्याउने प्रयास भयो। कूटनीतिज्ञहरूले डेनमार्कलाई अन्यत्र जमिन प्रस्ताव गरे पनि डेनमार्कले अस्वीकार गर्यो र योजना सफल हुन सकेन।
यसरी ग्रीनल्याण्ड अधिग्रहण प्रयास अमेरिकी रणनीतिक इतिहासको लामो श्रृंखला हो, जसले युरोप–अमेरिका सम्बन्ध र अमेरिकी प्रभुत्वको निरन्तरता दर्शाउँछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया