काठमाडौं । युरोपमा नयाँ फ्रेन्चाइज आधारित टी–२० क्रिकेट लिग सुरु हुने भएको छ। युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नाम दिइएको यस प्रतियोगितामा अस्ट्रेलियाका स्टार खेलाडी स्टिभ स्मिथ र मिचेल मार्श सहभागी हुने भएका छन्। साथै, अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ वह र वर्तमान अलराउन्डर ग्लेन म्याक्सवेल फ्रेन्चाइज टिमका मालिक बनेका छन्।
बुधबार वह र म्याक्सवेललाई औपचारिक रूपमा फ्रेन्चाइज मालिकका रूपमा सार्वजनिक गरिएको हो। यो लिग आयरल्याण्ड, स्कटल्यान्ड र नेदरल्यान्ड्समा आयोजना हुनेछ। हालसम्म एम्स्टर्डम, बेलफास्ट र एडिनबर्गमा आधारित तीन फ्रेन्चाइज बिक्री भइसकेका छन् भने डब्लिन, रोटरडाम र ग्लास्गोका तीन टिम अझै बिक्री हुन बाँकी छन्।
स्टिभ वह एम्स्टर्डम फ्लेम्सका सह–मालिक हुन्। उनका अनुसार उक्त टिमसँग स्टिभ स्मिथ, मिचेल मार्श र नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्स आबद्ध भइसकेका छन्। अस्ट्रेलियाका ब्याटर टिम डेभिडसँग पनि सकारात्मक छलफल भइरहेको जनाइएको छ।
यस्तै, ग्लेन म्याक्सवेल आयरिस वुल्भ्सका सह–मालिक हुन् भने न्युजिल्यान्डका पूर्व खेलाडी काइल मिल्स र नाथन म्याक्कुलमले एडिनबर्गको फ्रेन्चाइज किनेका छन्।
ईटीपीएल **क्रिकेट आयरल्याण्ड र भारतस्थित रुल्स ग्लोबल (रुल्स एक्स)**को संयुक्त आयोजनामा हुन लागेको हो। बलिउड अभिनेता अभिषेक बच्चन यस लिगका सह–संस्थापक हुन्। यसअघि सन् २०१९ मा सुरु गर्ने भनिएको युरो स्लाम टी–२० आयोजना हुन सकेको थिएन।
आईसीसीको स्वीकृति प्राप्त बहुराष्ट्रिय टी–२० लिगका रूपमा ईटीपीएल पहिलो प्रतियोगिता हुनेछ। यसको पहिलो सिजन आगामी अगस्ट २६ देखि सेप्टेम्बर २० सम्म सञ्चालन गर्ने तयारी छ। प्रारम्भिक सिजनका खेलहरू आयरल्याण्ड र नेदरल्यान्ड्सका मैदानमा खेलाइनेछन्।
स्टिभ वहले यो लिगले युरोपेली क्रिकेटरलाई विश्वस्तरीय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर दिई उनीहरूको स्तर छिटो उकास्ने विश्वास व्यक्त गरेका छन्। सह–संस्थापक अभिषेक बच्चनले पनि ठूलो लक्ष्य भए पनि चरणबद्ध रूपमा लिग विकास गरिने बताएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया