कांग्रेस विशेष महाधिवेशनको विवाद समाधानका लागि दुवै पक्षद्वारा वार्ता समिति गठन

96 Shares

काठमाडौं । भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन गरिरहेका नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न समिति गठन गरेका छन्।

विशेष महाधिवेशनसँग जोडिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र नेता डा. शेखर कोइराला नेतृत्वको इतर समूहका तर्फबाट छुट्टाछुट्टै वार्ता समिति बनाइएको हो। संस्थापन र इतर समूहको तर्फबाट गठन गरिएको वार्ता समितिमा बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डा. मिनेन्द्र रिजाल सदस्य रहेका छन्। खाण र लेखक सभापति देउवाको तर्फबाट तथा परियार र रिजाल डा. कोइरालाको तर्फबाट प्रतिनिधित्व गर्ने सदस्य हुन्।

यसअघि विशेष महाधिवेशन पक्षधरले सोमबार साँझ चार सदस्यीय वार्ता समिति गठन गरेका थिए। सो समितिमा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्यका साथै २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन अभियानको नेतृत्व गरेका नेता गुरुराज घिमिरे र देवराज चालिसे रहेका छन्।

दुवै पक्षका वार्ता समितिबीच केहीबेरमा छलफल हुने नेताहरूले जानकारी दिएका छन्।

यसैबीच, विवादकै बीच नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि मंगलबार बस्ने भएको छ। बैठक मंगलबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी आह्वान गरिएको छ।