तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न कांग्रेस सशक्त रूपमा लाग्छ : महामन्त्री थापा

76 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आफ्नो पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बोल्दै महामन्त्री थापाले कांग्रेस निर्वाचनमा सहभागी हुने र त्यसलाई भव्य रूपमा सफल बनाउन सक्रिय रहने स्पष्ट पार्नुभयो । उहाँले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारलाई समेत सचेत गराउनुभयो ।

महामन्त्री थापाले भन्नुभयो, “नेपाली कांग्रेस पार्टी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित हुनुपर्छ भन्ने मान्यता राख्छ । भव्यताका साथ यो निर्वाचन सफल बनाउने जिम्मेवारी कांग्रेसले वहन गर्छ । हामी निर्वाचनमा सोहीअनुसार सहभागी हुन्छौँ भन्ने कुरा स्पष्ट रूपमा राख्न चाहन्छु ।”

उहाँले निर्वाचन प्रक्रियालाई अझ विश्वासयोग्य र प्रभावकारी बनाउन निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेकोमा पनि जोड दिनुभयो ।