लमजुङका पाँच स्थानमा यात्रु सहायता कक्ष

7 Shares

काठमाडौं । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै लमजुङका विभिन्न पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। चाडपर्वका समयमा हुनसक्ने सवारी दुर्घटना, बढी भाडा असुली, टिकटमा हुने अनियमितता, चोरी तथा यात्राका क्रममा आइपर्ने विभिन्न समस्या न्यूनीकरण गर्ने उद्देश्यले बुधबारदेखि सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।

प्रहरीका अनुसार जिल्लाको मुख्य प्रवेशद्वार सुन्दरबजारको पाउँदी, सिउँडीबार चोक, मध्यनेपालको पाखुरीचोक, राइनासको धमिलीकुवा चोक तथा बेँसीसहर नगरपालिकाको भकुण्डे चालिसेचोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

बुधबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले भकुण्डे चालिसेचोक र पाउँदीमा स्थापना गरिएका सहायता कक्षको उद्घाटन गर्नुभयो। चाडपर्वका समयमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्दै नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिलाउन सहायता कक्ष प्रभावकारी हुने उहाँले बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी खनालले सहायता कक्षमा खटिने प्रहरी तथा सुरक्षाकर्मीलाई यात्रु तथा नागरिकको सेवामा जिम्मेवार भएर खटिन आग्रह गर्नुभयो। चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले सेवामुखी र प्रभावकारी सुरक्षा व्यवस्थापन आवश्यक रहेको उहाँको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले चाडपर्वका समयमा हुनसक्ने अपराध तथा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरी सक्रिय रूपमा परिचालन हुने बताउनुभयो। यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन प्रहरी परिचालन गरिने उहाँले जानकारी दिनुभयो।

जिल्ला ट्राफिक प्रहरी प्रमुख गौतमबहादुर खत्रीका अनुसार पाँचवटै सहायता कक्षमा ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली रहने व्यवस्था गरिएको छ। काठमाडौं, पोखरा, चितवनलगायत विभिन्न स्थानबाट आउने यात्रु तथा सवारीसाधनलाई लक्षित गरी मुख्य सडक तथा प्रवेश नाकामा सहायता कक्ष सञ्चालन गरिएको हो।

सहायता कक्षमार्फत बढी भाडा असुली, टिकटमा हुने अनियमितता, सवारीसाधनको अवस्था, चोरी तथा यात्राका क्रममा देखिएका अन्य समस्याबारे गुनासो तथा जानकारी लिइनेछ। ट्राफिकसम्बन्धी विषयमा ट्राफिक प्रहरीले र अन्य प्रहरीसम्बन्धी विषयमा नेपाल प्रहरीले आवश्यक कारबाही गर्ने व्यवस्था मिलाइएको छ।

यात्रुले सहायता कक्षमा उपलब्ध सम्पर्क नम्बरका साथै ट्राफिक प्रहरीको हेल्पलाइन १०३ र नेपाल प्रहरीको १०० मा समेत सम्पर्क गर्न सक्नेछन्।

आँगनमा दसैँ, आँखामा परदेशी सन्तानको प्रतीक्षा

दसैँ नजिकिएसँगै लमजुङका गाउँघरमा चहलपहल बढेको छ। घरआँगन लिपपोत गर्ने, नयाँ कपडा किन्ने, मीठामसिनोको जोहो गर्ने तथा आफन्तजन भेला हुने तयारीले गाउँघरमा दसैँको रौनक थपिँदै गएको छ।

रोजगारी, अध्ययन तथा अन्य कामका लागि देशविदेश पुगेका छोराछोरी घर फर्किन थालेपछि कतिपय परिवारमा दसैँको खुसी छाएको छ। तर कतिपय आमाबुबाका लागि भने दसैँको रौनकसँगै आफ्ना सन्तान घर फर्किने प्रतीक्षा पनि उत्तिकै गहिरिएको छ।

दोर्दी गाउँपालिका–३ श्रीमञ्ज्याङका बुद्धिमान श्रेष्ठको घरमा पनि यसपालिको दसैँसँगै सन्तानको प्रतीक्षा जोडिएको छ। छिमेकीका घरमा परदेश गएका छोराछोरी फर्किन थालेका छन्। गाउँघरमा आफन्त तथा परिवारका सदस्यको आवतजावत बढिरहेको छ। कतै छोराछोरी घर आइपुग्दा खुसियाली छाएको छ भने कतै दसैँको तयारीले गाउँ झिलीमिली बनेको छ।

तर श्रेष्ठका छोराछोरी भने अझै घर फर्किएका छैनन्। उनका छोरा र छोरी दुवै रोजगारीका लागि विदेश गएको झन्डै दुई वर्ष भइसकेको छ। छोरी दुई वर्षदेखि दुबईमा छन् भने छोरा विदेश गएको करिब डेढ वर्ष भएको छ। छोरी यसपालि दसैँमा घर आउने तयारीमा रहे पनि अहिलेसम्म निश्चित भइसकेको छैन। छोरा पनि छुट्टी मिले घर आउने बताइरहेका छन्।

“रोजगारीका लागि पैसा कमाउन टाढा गएका छोराछोरीलाई चाडपर्वमा घरमा सँगै देख्न पाए हुन्थ्यो भन्ने लाग्दोरहेछ। सबैजना घरमा नहुँदा दसैँ केही खल्लोजस्तै हुँदोरहेछ। छोराछोरी सबै घरमा हुँदा पो दसैँ आएजस्तो, रमाइलो भएजस्तो लाग्छ,” श्रेष्ठले भन्नुभयो।

अरूका छोराछोरी घर फर्किएर परिवारसँगै दसैँ मनाउने तयारी गरिरहँदा आफ्ना सन्तानको सम्झना झन् बढी आउने उहाँ बताउनुहुन्छ।

राइनास नगरपालिका–८ की लालमाया श्रेष्ठको अनुभव पनि उस्तै छ। उनका छोरा काठमाडौंमा जागिर गर्छन्। गत वर्ष घर आउन नसकेका छोरा यसपालि छुट्टी मिले परिवारसँगै दसैँ मनाउने तयारीमा छन्।

“विदेशमै हुनुपर्छ भन्ने रहेनछ, नजिकै काठमाडौंमा भए पनि दसैँमा परिवारसँग नहुँदा टाढा, परदेशमै भएजस्तो महसुस हुँदोरहेछ। आफ्नो मान्छे साथमा नहुँदा चाडपर्वको खुसी पनि अधुरोजस्तो लाग्छ,” उहाँले भन्नुभयो।

छोरा छुट्टी मिलाएर घर आउने आशामा आफूहरू रहेको उहाँले बताउनुभयो। “यसपालि छोरा घर आएर परिवारसँगै दसैँ मनाउन पाइयोस् भन्ने आशा छ। छुट्टी मिल्छ र आउँछु भनेको छ, त्यसैले यसपालि सँगै हुन्छौँ कि भनेर हेरिरहेका छौँ,” उहाँले भन्नुभयो।

मस्र्याङ्दी गाउँपालिकाकी सरिता गुरुङका दुई छोरा भारतमा रोजगारीका क्रममा छन् भने छोरी अस्ट्रेलियामा छिन्। अहिले घरमा उनी र उनका श्रीमान् मात्रै छन्। दसैँको माहोल सुरु भइसके पनि छोराछोरी टाढा हुँदा चाडपर्वको खुसी अधुरोजस्तो लाग्ने उहाँ बताउनुहुन्छ।

“आमाको मन हो, छोराछोरी साथमा नहुँदा दसैँ अलि खल्लो हुँदोरहेछ। दसैँ आँगनमै आइसकेको छ तर छोराछोरी परदेशमा छन्,” उहाँले भन्नुभयो।

यसपालि छोराछोरी घर आउने–नआउने निश्चित नभएको उहाँले बताउनुभयो। समय मिले आउने र नमिले अर्को वर्ष आउने कुरा भएको उहाँको भनाइ छ।

“चाडपर्वको बेला त झन् छोराछोरीको सम्झना बढी आउँदोरहेछ। हामी त उनीहरूलाई पर्खेरै बसेका छौँ। समय मिल्यो भने यसपालि सँगै दसैँ मनाऔँ, रमाइलो गरौँ भन्नेमा छौँ,” उहाँले भन्नुभयो।

दसैँलाई परिवारसँगको भेटघाट, आत्मीयता र खुसी साटासाट गर्ने पर्वका रूपमा लिइन्छ। त्यसैले रोजगारी, अध्ययन वा अन्य कारणले सन्तान टाढा हुँदा आमाबुबाको प्रतीक्षा अझ गहिरो बन्ने गरेको छ।

प्रविधिको विकाससँगै फोन तथा भिडियो कलले दूरी केही घटाए पनि सँगै बसेर टीका लगाउने, आशीर्वाद लिने र सुखदुःख साट्ने चाहना भने पूरा हुन नसकेको आमाबुबाहरूको अनुभव छ।

गाउँघरमा दसैँको रौनक बढ्दै गएको छ। परदेश तथा सहरबाट फर्किएका सन्तानका कारण कतिपय घरमा खुसी छाएको छ भने कतिपय आमाबुबा भने आफ्ना सन्तान फर्किने बाटोतिर आँखा लगाएर बसेका छन्।

उनीहरूको एउटै चाहना छ—यसपालिको दसैँमा टाढा रहेका आफ्ना सन्तान घर फर्किऊन् र लामो समयदेखि प्रतीक्षामा रहेको आँगन फेरि परिवारको हाँसोले भरियोस्।