सन् २०३० सम्म रेबिजबाट हुने मानव मृत्यु शून्यमा झार्ने सरकारी रणनीति
7
Shares
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३/८४–२०८७/८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिजका कारण मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको मन्त्री निशा मेहताको सचिवालयले जनाएको छ।
नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै आवश्यक खोप तथा उपचार पाएमा रेबिजबाट हुने मानव मृत्यु रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख गरिएको छ।
रणनीति अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुकुर तथा रेबिज गराउन सक्ने अन्य जनावरको टोकाइका २ लाख २३ हजार ५१० घटना रिपोर्ट भएका थिए। तीमध्ये करिब ९६ प्रतिशत घटना कुकुरको टोकाइसँग सम्बन्धित रहेको र रेबिजका ९९ प्रतिशत कारण कुकुरको टोकाइ रहेको दस्तावेजमा उल्लेख छ।
रेबिज नियन्त्रणका लागि सरकारले निगरानी तथा प्रयोगशाला परीक्षण प्रणालीलाई थप सुदृढ बनाउने भएको छ। त्यस्तै, कुकुरमा सामूहिक खोप अभियान सञ्चालन गर्ने, कुकुरको सङ्ख्या व्यवस्थापन गर्ने तथा कुकुरको टोकाइ र चिथोराइपछि मानिसमा गरिने उपचार तथा व्यवस्थापनलाई एकीकृत बनाउने कार्यक्रम अघि सारिएको छ।
रणनीतिअन्तर्गत मानिसमा रेबिजविरुद्धको खोप तथा इम्युनोग्लोबुलिनको पहुँच विस्तार गर्ने योजना पनि राखिएको छ। जोखिममा रहेका व्यक्तिले समयमै आवश्यक उपचार पाउने अवस्था सुनिश्चित गर्न स्वास्थ्य सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।
रणनीतिले कुकुरमा ७० प्रतिशत खोप कभरेज पुर्याउने लक्ष्य निर्धारण गरेको छ। यसका साथै मानिसमा रेबिजविरुद्धको खोप सहज रूपमा उपलब्ध गराउने तथा रोग पहिचान, प्रयोगशाला परीक्षण र निगरानी प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्यसमेत राखिएको छ।
रेबिज नियन्त्रणका लागि केवल स्वास्थ्य क्षेत्रमा मात्र सीमित नभई पशु स्वास्थ्य, स्थानीय सरकार, समुदाय तथा अन्य सरोकारवाला निकायबीच समन्वय आवश्यक हुने भएकाले रणनीतिमा बहुक्षेत्रीय सहभागितालाई प्राथमिकता दिइएको छ।
रणनीति कार्यान्वयनका लागि सङ्घीय तथा प्रादेशिक संरचनाका साथै जिल्ला र स्थानीय तहमा परिकल्पना गरिएका समितिमार्फत सम्बन्धित निकायले वार्षिक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
कार्यक्रम कार्यान्वयनपछि रेबिजसम्बन्धी रोग निगरानी थप प्रभावकारी हुने, जोखिममा रहेका कुकुरमा खोपको पहुँच बढ्ने तथा कुकुरको टोकाइपछि मानिसलाई आवश्यक उपचार तथा व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ।
त्यस्तै, रेबिजविरुद्धको रोकथाममूलक तथा उपचार सेवाको पहुँच र उपलब्धता सुधार गर्ने तथा सरकार, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच समन्वय बढाउने लक्ष्य पनि रणनीतिले लिएको छ।
सन् २०३० सम्म कुकुरको टोकाइबाट हुने रेबिजका कारण मानव मृत्यु शून्यमा झार्ने लक्ष्य हासिल गर्न नियमित खोप, प्रभावकारी रोग निगरानी, जनचेतना, कुकुर व्यवस्थापन तथा टोकाइपछि तत्काल आवश्यक उपचारको पहुँचलाई रणनीतिको मुख्य आधार बनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया