एजेन्सी । बुल्गेरियाली फुटबलका महान् खेलाडी तथा प्रशिक्षक दिमितार पेनेभलाई सोमबार सोफियास्थित नेशनल स्टेडियममा हजारौँ समर्थकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।
सन् १९९४ को फिफा विश्वकपमा बुल्गेरियाको राष्ट्रिय टोलीलाई ऐतिहासिक रूपमा चौथो स्थानसम्म पुर्याउँदै देशलाई विश्व फुटबलमा चिनाउने पेनेभको ८० वर्षको उमेरमा निधन भएको बुल्गेरियन फुटबल युनियनले जनाएको छ।
पेनेभले आफ्नो खेल जीवनको १३ वर्ष सीएसकेए सोफियामा बिताएका थिए र उनलाई बुल्गेरियाका उत्कृष्ट ‘सेन्टर–ब्याक’ मध्ये एकका रूपमा लिइन्छ। उनले सन् १९६६, १९७० र १९७४ का विश्वकपमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै कुल ९० अन्तर्राष्ट्रिय खेल खेलेका थिए। उनको योगदानको कदरस्वरूप उनलाई दुई पटक ‘बुल्गेरियन फुटबलर अफ द इयर’ सम्मान प्रदान गरिएको थियो।
प्रशिक्षकको भूमिकामा पेनेभ सन् २०१२ सम्म सक्रिय रहनु भएको थियो। यस अवधिमा उनले तीन वटा बुल्गेरियन लिग उपाधि, चार वटा बुल्गेरियन कप तथा एक बुल्गेरियन सुपर कप जिताउन सफल भएका थिए। सन् २०१९ मा उनी सल्लाहकारका रूपमा पुनः सीएसकेए सोफियासँग आवद्ध भएका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया