काठमाडौँ। नवौं एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको सेमिफाइनलमा साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न क्वार्टरफाइनल खेलमा दुवै टोलीले आ–आफ्नो खेल जित्दै सेमिफाइनल यात्रा तय गरेका हुन्।
पहिलो क्वार्टरफाइनल खेलमा हेल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो। हेल्प नेपालले बुढानिलकण्ठलाई २५–१३, २५–२३ र २५–१८ ले हराएको थियो।
त्यसैगरी, दोस्रो क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कोशी प्रदेश भलिबल संघलाई ३–० कै सोझो सेटमा पराजित गर्यो। कोशी २५–१९, २५–१७ र २५–१८ को सेटमा पराजित भएको हो।
आजै सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलबाट रुकुम पश्चिम ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको छ। सुरुआती सेटमा २२–२५ ले पछि परेको रुकुमले उत्कृष्ट पुनरागमन गर्दै विभागीय टोली एपीएफ क्लबविरुद्ध ३–१ को जित निकाल्यो। रुकुमले बाँकी तीन सेट २५–२०, २५–१६ र २५–२० ले आफ्नो पक्षमा पार्यो।
सेमिफाइनलमा रुकुम पश्चिम ट्रेनिङ सेन्टरले त्रिभुवन आर्मी क्लब र खिल्जी युवा क्लबबीचको क्वार्टरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया