योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन

167 Shares

काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले समाजमा योग र ध्यानको व्यापक अभ्यास गर्न सकिए भ्रष्टाचार न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ।

विश्व ध्यान दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले वर्तमान समयको प्रमुख आवश्यकता मन शुद्ध पार्नु भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार योग र ध्यानले मनलाई शुद्ध बनाउँछ, तर मन शुद्ध नभए लोभ, लालसा र घमण्ड बढ्दै भ्रष्टाचार मौलाउने अवस्था सिर्जना हुन्छ।

मन्त्री पुनले भ्रष्टाचार हटाउन कुनै औषधि नहुने स्पष्ट पार्दै, योग र ध्यान नै त्यसको प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो। योग र ध्यानलाई समाजका टोल–टोल र गाउँ–गाउँसम्म विस्तार गर्न सबैले पहल गर्नुपर्ने उहाँको आग्रह छ।

यसका साथै, योग र ध्यानलाई विद्यालय तहमा अतिरिक्त क्रियाकलापका रूपमा समावेश गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो। उहाँले योग विषय पढाउनेभन्दा पनि गराउने विषय भएको उल्लेख गर्दै विद्यालयमा शुक्रबारको दिनलाई पढाइभन्दा अतिरिक्त क्रियाकलाप केन्द्रित बनाउने प्रस्ताव अघि सारेको दाबी गर्नुभयो।

मन्त्री पुनले भन्नुभयो, “यदि मन शुद्ध भएन भने लोभ, लालसा र घमण्ड बढ्छ, र त्यही भ्रष्टाचार फैलिने आधार बन्छ। हामी जसलाई भ्रष्टाचारी भन्छौँ, उनीहरूको मन शुद्ध छैन। यस्तो प्रवृत्ति औषधिले हटाउन सकिँदैन। तर योग र ध्यानले मन शुद्ध बनाउन सक्छ।”

योग र ध्यानले भ्रष्ट, लोभी र घमण्डी मनलाई परिवर्तन गर्न सक्ने सम्भावना रहेको भन्दै मन्त्री पुनले समाज परिवर्तनका लागि यसलाई महत्त्वपूर्ण साधनका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार ध्यान र योगको अभ्यासले मानसिक शान्ति र नैतिक शुद्धता प्रदान गर्छ।