विपद्मा आरोप–प्रत्यारोपभन्दा सहकार्यमा जोड: गणेश पराजुली

24 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद् व्यवस्थापनमा आरोप–प्रत्यारोपभन्दा माथि उठेर रचनात्मक सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले प्रभावित नागरिकको घाउमा मलम लगाउन र पुनर्निर्माणलाई तिब्रता दिन तीनै तहका सरकारका साथै प्रतिपक्ष दल र नागरिक समाजको एकीकृत प्रयास आवश्यक रहेको बताउनुभएको हो ।

नेता पराजुलीले पछिल्लो समय जलवायु परिवर्तनका कारण आएको बाढी, पहिरो र डुबानले सिर्जना गरेको त्रासदीपूर्ण अवस्थाको समीक्षा गर्दै यसलाई केवल मौसमी घटनाका रूपमा मात्र लिन नहुने बताउनुभयो । उहाँले हिमालय क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै यसको संरक्षणलाई साझा अन्तर्राष्ट्रिय जिम्मेवारीको रूपमा स्थापित गर्न नेपालले निरन्तर पहल गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घीय महासभाको सम्बोधनले जलवायु न्यायका पक्षमा नेपालको अडानलाई विश्वमञ्चमा बलियो बनाएको भन्दै उहाँले अब त्यसलाई ठोस साझेदारी र प्रविधि हस्तान्तरणमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । संसदीय विशेष समितिको जिम्मेवारी सम्हालेका पराजुलीले विपद्को वैज्ञानिक अध्ययन गर्दै पूर्वाग्रहविना परिणाममुखी काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सुशासनका सम्बन्धमा रास्वपाको अडान प्रष्ट पार्दै नेता पराजुलीले विगतमा दलीय हस्तक्षेप र भागबण्डाले कमजोर बनाएको प्रशासनिक प्रणालीलाई विधि र निष्पक्षताको बाटोमा ल्याउन समय लाग्ने भएपनि सरकार सही मार्गमा रहेको दाबी गर्नुभयो ।

उहाँले कर्मचारी सरुवामा डिजिटल प्रणाली, अनलाइन सेवा र सार्वजनिक जग्गा संरक्षणजस्ता कदमहरू सुशासनका शुरुवात भएको बताउँदै घुसखोरीको अन्त्यका लागि नागरिकको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले चाडपर्व नजिकिँदै गर्दा विपद्मा परेका नागरिकहरूको दुःखमा साथ दिन सबै नेपालीलाई आग्रह गर्नुभयो ।