राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी छः प्रधानमन्त्री कार्की

299 Shares

काठमाण्डौ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताएकी छन् । 

जेन—जी आन्दोलनको एक महिना पुगेको स्मरणमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले युवाहरुले गरेको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसाथ गर्नुपर्ने बताइन् ।

क्रान्ति पछाडिको कारणलाई समेत गम्भीरताका साथ लिनुपर्ने बताइन् । युवाहरुको बलिदान पछि राजनीतिक र आर्थिक सुधार, देशमा विधि र न्यायको शासनको अपेक्षा, देशमा भ्रष्टाचार र बेथितिको अन्त्य भएको हेर्ने चाहना रहेको पनि बताइन् ।

एकातिर युवामा निराशा व्याप्त रहेको र अर्कोतिर देशप्रति उत्कट प्रेम रहेको बताउँदै उनीहरुको भावनालाई आफूले सम्मान गर्ने बताइन् ।

विगतका सरकारहरुले युवाहरुका आवाज सुन्न र उनीहरुको माग सम्बोधन गर्न नसकेको आरोप लगाउँदै यसका लागि सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने बताइन् । 

उनले राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी रहेको बताइन् । आन्दोलनका पीडित र घाइतेहरुको उपचार र राहतका लागि विशेष कार्यक्रम अगाडि सारेको बताइन् ।

उनीहरुको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा रहेको जिकिर गरिन् । भ्रष्टाचार, बेरोजगारी, विभेद जस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्न प्रतिवद्ध रहेको पनि बताइन् ।