को हुन् अर्थमन्त्री खनाल

331 Shares

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनी भएका छन् । 

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीन मन्त्रीको नाम टुंगो लगाएसँगै अर्थमा 
रामेश्वर खनाललाई जिम्मेपारी दिने निर्णय गर्नुभएको हो । 

जसमध्ये खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन लागिएको बालुवाटार निकट स्रोतले बताएको छ । स्रोतका अनुसार, उनीहरूको शपथ भने सोमबार मात्रै हुनेछ ।
अर्थमन्त्री बन्न लागेका खनाल अर्थ प्रशासनका विज्ञ मानिन्छन् ।

को हुन् खनाल 

आफ्नो सरकारी जीवनको अधिकांश समय अर्थ मन्त्रालयमा बिताएका खनालले १५ भदौ २०६५ देखि ३० चैत २०६७ सम्म अर्थ मन्त्रालयका सचिवको रुपमा काम गरेका थिए । 

त्यसअघि २३ साउन २०६३ देखि उनले मन्त्रालयको राजस्व सचिवका रुपमा काम गरेका थिए ।

सचिवका रुपमा खनालले डा। रामशरण महत, डा। बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे तथा भरतमोहन अधिकारीलगायत मन्त्रीहरूसँग काम गरेका थिए । 

भरतमोहन अधिकारी मन्त्री भएका बखत बजेट निर्माणको काम मन्त्रालयबाहिर भइरहेको थाहा पाएपछि खनालले सचिवबाट राजीनामा दिएका थिए ।

मन्त्रालयको सहसचिव रहँदा खनालले बजेट तथा कार्यक्रम महाशाखा तथा वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुखलगायत जिम्मेवारी सम्हालेका थिए ।

अर्थ मन्त्रालयबाट निवृत्त भएपछि खनालले अध्ययन, अनुसन्धान, परामर्श, प्राध्यापनलगायतका भूमिका निर्वाह गरिरहेका छन् । उनले अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्ष भएर काम गरेका छन् । 

त्यस आयोगले हालै मात्रै प्रतिवेदन बुझाएकाले आफैंले प्रस्ताव गरेअनुरुप आर्थिक सुधारका काम अघि बढाउने सुविधा खनाललाई हुनेछ ।

डा। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा खनालले प्रधानमन्त्रीका आर्थिक सल्लाहकारको भूमिका समेत निर्वाह गरेका थिए । खनालले डा। भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टीको आर्थिक विभाग प्रमुख भएर केही समय राजनीति पनि गरे ।

त्यसअघि उनी नेपाली कांग्रेसमा प्रवेश गरी राजनीतिमा थालेका थिए । खनालले राष्ट्रपति चुरे संरक्षण विकास समितिको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए ।

आर्थिक नीतिमा सुधार, सार्वजनिक वित्त व्यवस्थापन तथा बजेट, कर नीति र वैदेशिक सहायता व्यवस्थापनलगायत क्षेत्रमा खनालको विशेष दख्खल छ ।

उनलाई वौद्धिक, इमानदार र निस्वार्थ रूपमा शासन–प्रशासनमा काम गर्ने टेक्नोट्रयाटका रुपमा लिने गरिन्छ ।

खनालले काठमाडौं विश्वविद्यालयलगायतमा अध्यापन गराएका छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने भारतबाट एसीएमए उपाधि हासिल गरेका छन् ।