यो भन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्नै सक्दैनः अर्थमन्त्री पौडेल

०८४ सम्म अर्को सरकारको परिकल्पना नै गर्न सकिदैन

270 Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८४ सम्म वर्तमान सरकार भन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्न नसक्ने बताउनुभएको छ । 

काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार एमाले र नेपाली काँग्रेस मिलेर बनेको शक्तिशाली सरकार भएकाले २०८४ सम्म अर्को सरकारको परिकल्पना नै गर्न नसकिने बताउनुभएको हो । 

उहाँकाअनुसार वर्तमान सरकारले बजेट विनियोजनदेखि प्राथमितामा देखिएको विकृतिलाई निर्मम रुपमा सुधारेको छ । 

मुलुकमा अहिले स्थिर सरकार भएकै कारण कानूनी सुधार गरिएको र लगानीकर्तामा समेत मनोबल बढेको पौडेलको भनाइ छ । उहाँले सरकारले योजना बनाउँदा प्राथमिकतालाई आधार मान्ने बताउनु भयो । 

उहाँकाअनुसार योजना आयोगले योजना बनाइदिएपछि त्यो योजना ठिकठाक हुन्छ भन्ने ठान्नु हुँदैन । 

योजना निर्माण गर्दा प्राथमिकतामा आधारित छ वा छैन त्यसमा ख्याल गर्नुपर्ने उहाँको भनाइ छ । 

उहाँले अहिले योजना निर्माण र विनियोजनमा गम्भीर समस्या समेत रहेको बताउनु भयो । त्यो समस्याबाट बाहिर निस्कनका लागि प्रयास भइरहेको उहाँको भनाई छ । 

चालु आ.व.को बजेट ल्याउँदा योजना बैंकबाट बाहिर रहेर बजेट नल्याइएको उहाँले दाबी गर्नुभयो ।