कक्षा १२ को नतिजा: १३ हजारभन्दा बढीले ल्याए ३.६१ भन्दामाथि जीपीए

187 Shares

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। नतिजाअनुसार, नियमिततर्फ सबैभन्दा बढी ९४ हजार २६८ विद्यार्थीले २.८१ देखि ३.२० सम्मको जीपीए प्राप्त गरेका छन्। उत्कृष्ट मानिने ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ५०२ रहेको छ।

यस वर्ष अनिवार्य अंग्रेजी विषयमा सबैभन्दा धेरै विद्यार्थी नन-ग्रेडेड भएका छन्। बोर्डका अनुसार अनिवार्य अंग्रेजीमा ६६ हजार २७५, लेखामा ४१ हजार २६३, सामाजिक अध्ययनमा ३३ हजार ९२१ र अनिवार्य नेपालीमा २८ हजार ३५६ विद्यार्थी नन-ग्रेडेड भएका छन्।

बोर्डले ‘नन-ग्रेडेड’ भएका विद्यार्थीका लागि ग्रेड वृद्धि (पूरक) परीक्षाको मिति पनि तोकेको छ। आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने बोर्डले जानकारी दिएको छ। 

यस वर्ष नियमिततर्फ परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्। जुन गत वर्षको तुलनामा करिब ९ प्रतिशतले बढी हो।

सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै बोर्डले २०८२ साल वैशाखमा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। जस अनुसार, नियमिततर्फ परीक्षा दिएका ३ लाख ९६ हजार ३४७ परीक्षार्थीमध्ये २ लाख ४२ हजार ४६५ जनाले ग्रेड प्राप्त गरेका छन् भने १ लाख ५३ हजार ८८२ जना ‘नन-ग्रेडेड’ (NG) भएका छन्।

त्यस्तै, आंशिकतर्फ परीक्षा दिएका १ लाख १४ हजार ६४० मध्ये ४१ हजार ८४० (३६.४९ प्रतिशत) मात्र उत्तीर्ण भएका छन्।