नेपालमा एचआइभी संक्रमितको संख्या ३० हजार बढी, मृत्युको संख्या ५६९

99 Shares

काठमाडौं । नेपालमा एचआइभी एड्स संक्रमितको अनुमानित संख्या ३० हजारभन्दा बढी रहेको सरकारी तथ्यांकले देखाएको छ। 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआइभीको संक्रमण अवस्था रहेको छ । मुख्य जोखिम समूह पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषहरु, लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु, महिला यौनकर्मीहरु, लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरु, आप्रवासी व्यक्तिहरु रहेका छन् । 

एचआइभी संक्रमितहरु महिलाभन्दा पुरुष बढी रहेका छन् । नयाँ संक्रमणको वार्षिक दर पनि ६ सय १४ छ भने एड्ससँग मृत्युको संख्या ५६९ रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी जनस्वास्थ्य प्रशासक अस्मिता ओझाले बताउनु भयो । उहाँका अनुसार नेपालमा एचआइभी संक्रमित गर्भवतीको संख्या २ सय २७ रहेको छ । 

यौन व्यवसायमा संलग्न व्यक्तिहरु १ लाख १५ हजार ९ सय १९ जनामा, पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष ७७ हजार ३ सय ४० जना र लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु ३२ हजार ८ सय ९५ जना, जेलमा भएका व्यक्तिहरु २७ हजार ८ सय ३९ र लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरु ४४ हजार ३ सय ५० जनामा यो अध्यन गरिएको हो । 

निःशुल्क साधन अभाव परीक्षण सेवा विस्तारमा रोक र दातृ निकायमा निर्भरता बढ्दै जाँदा नेपालले सन् २०३० भित्र एचआईभी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्न निकै चुनौती खेप्नुपर्ने विज्ञहरुले बताएका छन् ।