बेसहारा बनेका तीन बालबालिकाको अभिभावक बनेका मण्डनदेउपुरका 'शोभित माझी' (भिडियाेसहित)

831 Shares
  • ज्ञानमणि नेपाल कालोटोपी

मण्डनदेउपुर, काभ्रे । आमाबुबा बितेर वा कुनै भवितव्यमा परेर बालबालिकाहरु बेसहारा बनेका हामीले धेरै सुनेका छौं तर आमाबुबा हुँदा पनि यहाँका तीन बालबालिका बेसहारा भएका छन् । उनीहरुलाई अहिले आफन्तले हेरचार गर्ने र पढाइ तथा संरक्षणको आँट गरेका छन् । जसले ती बालबालिकाको संरक्षण गरिरहेका छन्, उनी आफैंको पनि आर्थिक अवस्था कमजोर भएपछि यतिबेला सहयोगका लागि अनुरोध गरिएको छ । 

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर–९ झ्याँडीस्थित पहिरेको माझीगाउँका हिराकाजी माझीका तीन जना छोराछोरीलाई यतिबेला हिराकाजीका मामा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० स्थित माझीगाउँका शोभित माझीले पालनपोषण गरिरहनुभएको छ । भान्जाले पनि हेरविचार गर्न सक्दिनँ भनेका र बुहारीले पनि छोडेर गएपछि उनीहरुका तीन जना छोराछोरीको जिम्मा आफूले लिन बाध्य भएको उहाँले बताउनुभयो । 

शोभित माझीका अनुसार उहाँकी बहिनी मैया माझीको ०५० सालमा चट्याङ परेर मृत्यु भएको थियो । त्यसपछि मैयाका श्रीमानले अर्को बिबाह गर्नुभयो तर उहाँको पनि अहिले मृत्यु भइसकेको छ । (उनै बहिनीका छोरा) भान्जा ज्यामी काम गर्ने र कामको शिलशिलामा अधिकांश समय बाहिरतिर रहने गरेका कारण उनले घरपरिवार र छोराछोरीलाई बेवास्ता गरेको भन्दै उनकी श्रीमती सरिता माझी केही दिनअघि बेखबर भएर घर छाडेर हिँडेपछि ती बालबालिकाको जिम्मेवारी शोभित माझीको काँधमा आएको हो । 

शोभित माझी (5).jpg

६७ वर्षिय शोभितका एक मात्र सन्तान सहदेव माझीको ०७२ सालको विनासकारी भूकम्पमा परेर मृत्यु भयो । त्यसयता शोभित दम्पती सन्तानबिहीन थिए । अहिले एकैपटक तीन जना बालबालिकाको स्याहार र हेरचाह गर्नुपरेका कारण उनीहरुलाई आर्थिकरुपमा समस्या परेको शोभित बताउनुहुन्छ । भान्जाले आफू कामको लागि चरिकोट गएको बेला बालबच्चा छोडेर श्रीमती अन्यत्रै गएको भन्दै संरक्षणका लागि गरेको अनुरोधपछि मात्रै आफूले उनीहरुलाई घरमा ल्याएको बताउँदै उहाँले बुहारीको व्यवहारले दुखित भएको र अब जे जसरी भएपनि ती बालबालिकाको हेरविचार गरिरहने बताउनुभयो । तर आफैं पनि पूरै ज्याला मजदूरी गर्नुपर्ने अवस्थामा रहेकाले कुनै संघसंस्था वा व्यक्तिले केही आर्थिक सहयोग गरे हुन्थ्यो भन्ने आशा व्यक्त गर्नुभयो । 

बुहारी सरिता अहिले उदयपुरको गाईघाटमा भएको केही चिनेका मानिसले खबर गरेको शाेभितले  बताउनुभयो । घरमा केही खबरै नगरि बालबच्चा छोडेर धेरै दिनदेखि कुनै सम्पर्कमा नरहेपछि अब आएर बालबच्चा पाल्छु भनिन् भने पनि उनकै भरमा मात्र छोड्ने अवस्था नरहेको शोभितको भनाइ छ । 

यो समस्या लिएर उहाँ नजिकैको विन्धवासिनी माविमा पुग्नुभयो। विद्यालयले १० वर्षकी जेनिसा माझीलाई कक्षा २ मा र ५ वर्षका जेनिस माझी तथा साढे तीन वर्षका जीवन माझीलाई नर्सरीमा भर्ना गरिदिएर आवश्यक कापी, किताब, पेन्सिल, स्कूल ब्याग तथा विद्यालय पोशाकसमेत सहयोग गरेको छ । यसले पनि निकै राहत मिलेको तर आगामी दिनमा उनीहरुलाई आवश्यक पर्ने विद्यालय सामाग्री जुटाउन आफूलाई निकै समस्या रहेको उहाँले बताउनुभयो । ती बालबालिकाको बारेमा आफूले पनि सक्दो सहयोगका लागि पहल गर्ने बताउँदै वडा नम्बर १० कि महिला सदस्य पार्वती नेपालले वडा र नगरपालिकामा अनुरोध गर्ने बताउनुभयो । आफ्नै अभिभावकको बेवास्ताका कारण संरक्षणबिहीन भएका ती बालबालिकालाई अहिले हेरविचार गरिरहेका शोभित स्वयं पनि आर्थिकरुपमा कमजोर भएकाले कसैले सहयोग गरे उनीहरुको उद्धार हुने स्थानीय शिक्षक रामप्रसाद नेपाल बताउनुहुन्छ । 

शोभित माझी (2).jpg

निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवसले छोएन पीडितलाई 
बुधबार देशमा निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । तर ठूला तारे होटल तथा रेष्टुरेन्टमा करोडौं खर्च गरेर यस्ता कार्यक्रम हुँदै आए पनि वास्तविकरुपमा पीडित भएका जेनिसा, जेनिस तथा जीवन माझी जस्ता बालबालिकाहरुसमक्ष कार्यक्रम आयोजकहरुका आँखा पुगेका छैनन् । सरकारले विभिन्न ठाउँमा समस्यामा परेका बालबालिकाहरुका लागि भनेर आश्रमहरु पनि खोलेको छ । धेरै सहयोग पनि गरिरहेको जनाएको छ तर यस्ता समस्यामा परेका बालबालिका भने अझै सहयोगको आशामा छन् । 

किन मनाउन थालियो यो दिवस ?
संयुक्त राष्ट्र सङ्घ महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपत्कालीन विशेष अधिवेशनमा इजरायलको आक्रमणका कारण प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि परेको हिंसाबाट स्तब्ध हुँदै यो दिवस मनाउने निर्णय गरेको हो । यस दिवसको उद्देश्य संसारभर बालबालिकाले भोग्नुपरेको शारीरिक, मानसिक तथा भावनात्मक पीडालाई सम्बोधन गर्नु र तिनीहरूको संरक्षण सुनिश्चित गर्नु हो । बाल अधिकारसम्बन्धी महासन्धिको मार्गदर्शनमा संयुक्त राष्ट्र सङ्घले बालबालिकाको अधिकारको रक्षा गर्न प्रतिबद्धता जनाउँदै आएको छ । 

आज पनि विश्वका कैयौँ बालबालिका द्वन्द्व, चरमपन्थी हिंसा, शोषण र दण्डहीनताबाट प्रभावित छन् । आफ्नै परिवारबाट हुने समस्या र पीडाका विषयहरु त यसमा अझै समेटिनै बाँकी छ । सन् २०१५ मा पारित २०३० का लागि दिगो विकास एजेन्डाले बालबालिकाको सुरक्षाका लागि स्पष्ट लक्ष्य तय गरेको छ । लक्ष्य अन्तर्गत सबै प्रकारका हिंसा अन्त्य गर्ने, शोषण, उपेक्षा र दुर्व्यवहारविरुद्ध कठोर कदम चाल्ने योजना समेटिएको छ । तर यो अभियान र दिवसले आज पनि पीडितहरुलाई भने छुन सकेको पाइँदैन । यसमा राज्य मात्र दोषी छैन अभिभावक पनि उस्तै दोषी छन् । आफ्ना बालबालिकाको हेरचाह गर्नुपर्छ भन्नेसम्मको चेतनास्तर नभएका केही अभिभावकहरुका कारण आज हजारौं जेनिसा, जेनिस र जीवन माझीहरुले कलिलो उमेरमै आफ्नो सहारा गुमाएका छन् । उनीहरुको बालमस्तिस्कमा जीवनभर नमेटिने छाप परेको छ भने बाबुआमाको माया पनि गुमाउँदै गएका छन् । यतातिर सबैले ध्यान दिनु आवश्यक रहेको सरोकारवालाहरु बताउँछन् । 

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला 

 

तस्बीरहरुः ज्ञानमणि नेपाल कालोटोपी / न्युज हाउस नेपाल