काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आदिवासी जनजातिहरूको नेतृत्व र प्रतिनिधित्वको सवाललाई उचित ढंगले सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
आइतबार पार्टी मुख्यालय सानेपा पार्टी मुख्यालयमा पुगेको नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरूले बुझाएको अडानपत्र ग्रहण गर्दै काँग्रेस उपसभापति पुष्पा भुसालले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
उपसभापति भुसालले नेपालको संविधानले समानुपातिक समावेशिता र विविधताको सिद्धान्तलाई मूल आधार बनाएको उल्लेख गर्दै राज्य संरचनामा आदिवासी जनजातिको प्रतिनिधित्व अपरिहार्य भएको बताइन् ।
उनले पार्टीभित्र तथा सरकारमा समेत उनीहरूको उचित प्रतिनिधित्व र नेतृत्व सुनिश्चित गर्न काँग्रेसले संसदभित्र र बाहिर दुवै तहमा पहल गर्ने बताइन् ।
भुसालका अनुसार काँग्रेस संविधान संशोधनबारे स्पष्ट दृष्टिकोण बनाउने प्रक्रियामा रहेको छ र त्यस क्रममा आदिवासी जनजातिका अधिकारका विषयलाई गम्भीरतापूर्वक अघि बढाइनेछ ।
‘नेपालको संविधानले समानुपातिक समावेशिता र विविधताको सिद्धान्तलाई मूल आधार बनाएको हो,’ उनले भनिन्, ‘आदिवासी जनजातिको प्रतिनिधित्व मात्र होइन, नेतृत्व स्वीकार गर्ने कुरामा पनि काँग्रेस कार्यान्वयनतर्फ अघि बढ्छ ।’
उनले प्रमुख प्रतिपक्ष दलका नेता तथा पार्टी नेतृत्वले यो मुद्दालाई संसदभित्र प्रभावकारी ढंगले उठाउने विश्वास पनि व्यक्त गरिन् ।
महासंघका पदाधिकारीहरूले भने आदिवासी जनजातिका मुद्दालाई गम्भीरतापूर्वक सम्बोधन गर्न राजनीतिक दल र सरकारलाई अडानसहित आग्रह गरेका छन् ।
यस अवसरमा महासंघका महासचिव विमल सारुमगर ले आफ्ना माग र सरोकारका विषयहरू राजनीतिक दलसमक्ष स्पष्ट रूपमा राखिएको जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया