काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँगको वार्ता निष्कर्ष उन्मुख रहेको बताउनुभएको छ ।
सोमबार साँझ मन्त्रिपरिषद्को बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री पन्तले शिक्षक महासंघसँगको चरणवद्ध वार्ताहरु सहमतिबाट टुंगिन लागेको बताउनुभएको हो । शिक्षक महासंघसँगको वार्ता औपचारिक सहमतिको अवस्था नबनेको भन्दै सोमवार बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको थियो ।
मन्त्रालयको टोली र महासंघले बनाएको सहमतिको आधारमा समितिमा छलफल हुने भएपछि संसदीय समितिको बैठक स्थगित गरिएको थियो । अबको बैठकमा सबै विषय सहमति बनेर आउने शिक्षामन्त्री पन्तको भनाइ छ ।
शिक्षक महासंघसँग भएको सहमतिहरुलाई मन्त्री पन्तले समितिमा टेबल गर्ने र छलफल गरी विधेयकको अंग बनाइने तयारी सरकारको छ । सरकार र शिक्षक महासंघ निष्कर्षमा नपुगी विद्यालय शिक्षा विधेयक माथिको छलफल अपूरो हुने भन्दै सांसदहरुले छिटो सहमति जुटाउन सरकारलाई दबाब दिइरहेका छन् । यस्तै सरकारले असार १५ गतेभित्र ऐन नै जारी गर्ने भनेर आन्दोलनरत शिक्षकसँग सहमति गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया