तनहुँकाे मादी नदीमा जीप खस्दा तीन जनाको मृत्यु

340 Shares

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु भएको छ । 

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप पुलको रेलिङ भत्काएर शनिबार राति मादी नदीमा खसेको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । जीपमा पाँच जना सवार थिए । मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । 

घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाइएको  छ भने चालक सामान्य रहेका छन् । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।