यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा र गर्मी, तयारी अवस्थामा नबसे ठूलो क्षति हुने चेतावनी

542 Shares

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ।

बुधबार विभागले ललितपुरमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा मौसमविद्हरूले यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन् । 

विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताउनु भयो । उहाँले देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको बताउनु भयो । 

यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको बताउँदै उहाँले तापक्रम पनि स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत हुने जानकारी गराउनु भयो । यस्तै, उहाँले यस वर्षको मनसुन ऋतुको न्यूनतम तापक्रमको आँकलन पनि विगत वर्ष जस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको जानकारी दिनुभयो ।  

विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने गरेको भन्दै यसबाट हुने क्षतिलाई न्युनिकरण गर्न तयारी अवस्थामा बस्नुपर्ने बताउनु भयो । उहाँले १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद्हरू मनसुनको अवधिमा हुने बताउनु भयो । 

यो अवधिमा पहिरो–बाढीको जोखिम, धनजनको क्षति र अन्य विपद्का घटनाहरू बढी हुने भएकोले तयारी अवस्थामा बस्नुपर्ने बताउँदै उहाँले मनसुन अगावै तयारी अवस्थामा रहेको खण्डमा धनजनको जोखिमलाई न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।  

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । मनसुनको समयमा नेपालमा हरेक वर्ष तीन सय बढीको ज्यान जाने र २ सय मिलियन डलरभन्दा बढी क्षति हुने गरेको विभागले जनाएको छ ।