विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद पौडेल

254 Shares

काठमाडाैं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले नीति तथा कार्यक्रममा विद्यालयदेखि विश्व विद्यालयसम्मको पाठ्यक्रम समय सापेक्षरूपमा परिवर्तन गर्ने कुराहरू समावेश हुनु राम्रो पक्ष भएको बताउनुभएको छ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षा विकासको पूर्वाधारको पनि पूर्वाधार रहेको बताउनु भयो । उहाँले नेपालको शिक्षा नीति आर्थिक विकास वृद्धि र समृद्धिसँग सम्बन्धित नहुनु दुर्भाग्यपूर्ण रहेको बताउँदै सरकारले ल्याएको विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने योजना प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । 

उहाँले पाठ्यक्रम असान्दर्भिक हुँदा शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना बन्दै गएको वर्तमान परिस्थितिमा सरकारले शिक्षा नीति परिवर्तन गर्ने प्रतिवद्धता जाहेर गर्नु सकारात्मक पक्ष भएको जिकिर गर्नुभयो । उहाँले नेपाली लाखौँ विद्यार्थीहरू उच्च शिक्षा अध्ययनको लागि विदेशिएको र खर्बौँ रुपैयाँ बाहिरिएको बताउँदै सरकारले युवाहरूले रोजेको, खोजेको, चाहेको विषयमा पढ्न पाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।  

उहाँले नीति तथा कार्यक्रमले मुलुकमा देखिएका समस्याहरूलाई समाधान गर्ने विश्वास व्यक्त गर्दै सरकारले त्यसमा कलियो प्रतिवद्धता समेत जाहेर गर्नुपर्ने बताउनु भयो ।