पुलिस क्लबलाई दोस्रो मदन भण्डारी कप भलिबलको उपाधि

8 Shares

बुटवल। नेपाल पुलिस क्लबले दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

बुटवलमा शनिबार सम्पन्न फाइनलमा पुलिसले भारतीय खेलाडी सम्मिलित सभापोखरी भलिबल क्लब संखुवासभामाथि ३–० को सोझो सेटमा जित निकाल्दै उपाधि उचालेको हो।

पुलिसले पहिलो सेट २५–२३ ले जितेको थियो। दोस्रो सेटमा पनि २५–२३ कै नतिजा निकाल्दै अग्रता कायम गरेको पुलिसले तेस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पार्‍यो।

उपाधिसँगै पुलिसले ७ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता सभापोखरीले ३ लाख ५० हजार रुपैयाँ पाएको छ।

यस्तै, भारतको खैरा भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ क्लब तेस्रो भएको छ। तेस्रो स्थान हासिल गरेको एपीएफले १ लाख ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

प्रतियोगितामा नेपाल पुलिसका पहल गहतराज सर्वोत्कृष्ट खेलाडी घोषित भए।

असोज १२ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका सात टोलीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको समापन समारोहमा लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री रामजी घिमिरेलगायत अतिथिले विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।