विद्यालय शिक्षा विधेयकसम्बन्धी गठित उपसमितिको म्याद १० दिन थपियो

363 Shares

काठमाडाैं । विद्यालय शिक्षा विधेयकका माग सम्बोधनका लागि गठित संसदीय उपसमितिको म्याद १० दिन थपिएको छ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले उपसमितिको म्याद १० दिन थप गरेको हो । उपसमितिलाई यसअघि ३५ दिनको समय दिइएको थियो । ३५ दिनमा सहमति जुट्न नसकेपछि थप १० दिन उपसमितिको समय थपिएको हो । समितिको बैठकमा उपसमितिका संयोजक छविलाल विश्वकर्माले १० दिनको समय माग गर्नुभएको थियो । जसलाई समितिले स्वीकृत गरेको हो ।

 यसबारेमा जानकारी गराउँदै समिति सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिलाई १० दिनको म्याद थप सम्बन्धी प्रश्तावलाई समितिले स्वीकृति गरेको बताउनु भयो । उहाँले यसअघि ३५ दिनको समयमा उपसमितिले रातदिन काम गरेको र गम्भीरतापूर्वक छलफल गरेको बतउनु भयो । उहाँले धेरै बुँदाहरु समितिका लागि शीर्ष तहमा जानुपर्ने अनुमान गरेपनि उपसमितिबाटै टुंगिँदा खुशी लागेको बताउनु भयो । 

सभापति थापाले विद्यालय शिक्षा विधेयकलाई अझ समृद्ध बनाउने गरी अघि बढ्न जरुरी रहेको बताउनु भयो ।