कक्षा १२ को परीक्षा आजदेखि शुरु हुँदै, पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी हुने

313 Shares

भक्तपुर । आजदेखि कक्षा १२ को परीक्षाको शुरु हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले जनाए अनुसार देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ। सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको छ।

परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुनेछन्।

यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुनेछन्।