शिक्षकहरूसँग सहमतिः भोलिदेखि पठनपाठन सुचारु हुने, असार १५ भित्र शिक्षा ऐन जारी हुने

518 Shares

काठमाडौँ । विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० लाई प्रतिनिधि सभाबाट यथाशीघ्र पारित गर्ने सहमति भएकाे छ । सत्तापक्षका नेताहरूले यसमा लिखित प्रतिबद्धता जनाएका हुन् ।

प्रमुख सत्तारुढ दलका नेताहरूले संयुक्तरुपमा जारी गरेको प्रतिबद्धता पत्रमा विद्यालय शिक्षा विधेयक २०८० चालु संसद् अधिवेशनभित्र अर्थात २०८२ असार १५ गतेभित्र पारित गराउने उल्लेख गरिएको छ ।

संसदीय दल, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा संसदमा विधेयकबारे सैद्धान्तिक छलफल सम्पन्न भइसकेको र समितिमा उपसमिति गठन गरी दफावार छलफल भइरहेको जनाइएको छ।

494570562_1162769368924844_21968745025600098_n_ztDz6RDl0I.jpg

उक्त प्रतिबद्धतासँगै नेपाल शिक्षक महासङ्घले जारी गरेको आन्दोलन हाललाई स्थगित गरिएको छ र सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई पुनः नियमित शैक्षिक गतिविधिमा फर्कन आग्रह गरिएको छ।

सत्तापक्षका नेताहरूको यो प्रतिबद्धतालाई शिक्षक महासङ्घले सकारात्मकरुपमा लिँदै ऐन तोकिएको मितिभित्र पारित नभए पुनः सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।  सहमतिसँगै महासंघले आन्दोलन स्थगित गरेकाे छ ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा २०८१ चैत २० गतेदेखि काठमाडौंमा शिक्षक आन्दोलन भएकाे थियाे ।